तपाईँ सुन्दै हुनुहुन्छः

गर्मीको कारण बर्दियाका विद्यालय तीन दिन बन्द

बर्दिया । बर्दियामा अत्याधिक गर्मीको कारण तीन दिन विद्यालय बन्द गरिएको छ ।

बर्दियाको बढैया ताल गाउँपालिका, गुलरिया नगरपालिका र मधुवन नगरपालिकाले आगामी जेठ १८सम्मको लागि विद्यालय बन्द गरेको छ ।
केही दिनयता पश्चिम तराईमा तातो हावा लु चलेको छ । तातो हावाको कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर देखिन बर्से बिदामा कटौती हुने गरी तीन दिन विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल प्रभाव देखिन थालेपछि विद्यालय बन्द गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिश यादवले बताउनुभयो ।
सामुदायिक तथा संस्थागत सम्पुर्ण विद्यालयहरू १६ गतेदेखि १८ गतेसम्म बिदा हुने भएका छन् । वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बिदा गर्नका लागि नगरपालिकाले निर्णय गरेपछि बिदा गरिएको हो ।

यता ठाकुरबाबा नगरपालिकाले गर्मी बढेपछि बिहानी कक्षा सञ्चालन गरिरहेको छ । बिहानी कक्षा सञ्चालन गरेपछि गर्मीको प्रभाव कम देखिएकाले विद्यालय बन्द नगरिएको ठाकुरबाबा नगरपालिकाका सूचना अधिकारी बिकास भाटले बताउनुभयो । केही दिनयता बर्दियालगायत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको पाइएको छ । विशेष गरी दिउँसोको समयमा सडक तथा बजार व्यवसाय सुनसान देखिन्छ । बर्दियामा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस भएको अनुमान गरिएको छ ।

गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या समेत बढ्दै गएको छ । गर्मीको कारण देखिने समस्याहरू लिएर आउने बिरामी बढेको बर्दिया अस्पतालले जनाएको छ ।
बर्दिया अस्पताल गुलरियाका मेडिकल सुपरीटेन्डेन्ट सुभाष पाण्डेयले बिरामीको सङ्ख्या बढ्दै गएको बताउनु भयो । उहाँले पानीको कमीले हुने समस्या, ज्वरो, रुघाखोकी का बिरामीहरू बढी आउने गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button