तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वास्थ्य सेवालाई आम नागरिकको सहज पहुँच पुर्‍याउन प्रदेश सरकार नयाँ नीति बनाएर अघि बढ्न लागेको  बताउनुभएको छ ।

विराटनगरस्थित न्युरो अस्पतालले आजदेखि सञ्चालनमा आएको अल पावर्ड १२८ सलाइस सिटी स्क्यान ( Al Powered 128 Slice CT Scan) र डिस्का स्क्यान सेवाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका ५० लाख जनसङ्ख्यालाई सस्तो सहज र गुणस्तरीय सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा महँगो भएका कारण कतिपय विपन्न समुदायले सहज रूपले स्वास्थ्य सेवा पाउन नसकेकाले स्वास्थ्य सेवामा नयाँ नीति आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सेवालाई सहज र सस्तो बनाउन सकेमा मात्र आम नागरिकमा स्वास्थ्य सेवाको सहज पहुँच पुग्ने उहाँले बताउनुभयो ।

उहाँले स्वास्थ्य विमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री कार्कीले बिरामीलाई गुणस्तर सेवा प्रदान गर्न न्युरो अस्पतालले सञ्चालनमा ल्याएको उपकरण उपयोगी र प्रभावकारी हुने भन्दै निजी अस्पतालले आम जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुने गरि सर्वसुलभ रुपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कोशी  प्रदेशमै विश्वसनीय सेवा प्रवाह गर्दै आएको न्युरो अस्पतालको सेवा प्रभावकारी र गुणस्तर भएकाले अस्पतालले बिरामीको मन जित्न सफल भएको बताउनुभयो ।

एवन पावर्ड १२८ सलाइस सिटी स्क्यानबाट टाउकोको नसा हाड लगायत मुटुको एन्जियोग्राफी पनि हुने गर्दछ । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो मेसिनको मूल्य साढे पाँच करोड रुपैयाँ रहेको छ ।

त्यस्तै डिस्का स्क्यानले मानिसको शरीरको हाडको बारेमा सम्पुर्ण जानकारी गराउने वरिष्ठ हाड जोर्नी रोग विशेषज्ञ डा.नविनकुमार कर्णले बताउनुभयो ।

अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरो लोजिष्ट डा.विरेन्द्रकुमार विष्टले अस्पतालले प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी गराउँदै अस्पतालबाट आम नागरिकले सर्वसुलभ रुपमा सेवा पाइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button