तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री लामाद्वारा सिटी स्क्यान सेवा शुभारम्भ

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक लगानीमा सिटी स्क्यान उपकरण जडान गरिएसँगै आज मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले उद्घाटन गर्नुभएको हो । त्रिशूली अस्पतालको ६० औँ वार्षिकोत्सवको अवसरमा उक्त सेवा सुरु गरिएको हो । सेवा सुरु भएसँगै सघन प्रकृतिका उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास मुख्यमन्त्री तामाङले व्यक्त गर्नुभयो । अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहको लागी आगामी दिनमा सुत्केरी सेवा, अस्पतालको लागी चाहिने जग्गा सहितको भौतिक संरचनाको निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सिटी स्क्यान सेवा सञ्चालन भएसँगै अस्पतालको सेवा आगामी दिनमा अझै गुणस्तरीय हुने त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले बताउनुभयो ।

अस्पतालले बहिरङ्ग विभाग मार्फत दैनिक पाँच सय भन्दा बढीलाई सेवा दिँदै आइरहेको छ । अहिले एक सय शय्या क्षमताको अस्पताललाई आगामी दिनमा विस्तार गर्दै हब अस्पतालको रुपमा स्तरउन्नती गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य सेवा मापदण्डको तथ्याङ्कको आधारमा त्रिशूली अस्पताल देशभरमै उत्कृष्ट अस्पतालको रुपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button