तपाईँ सुन्दै हुनुहुन्छः

फोहोर पानी पिउँदै जनता: रोगको जोखिम बढ्दो 

रुकुमपूर्व । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नम्बर २ का स्थानीयले वर्षाको मौसममा पनि खानेपानी राम्रोसंग उपभोग गर्न पाएका छैनन् ।

पुस्तौँदेखि नहर र कुलोको पानी पिउँदै आएका उनीहरू बर्षातका कारण नहरको पानी फोहोर भएपछि झाडापखाला,आँउ जस्ता विभिन्न पानीजन्य रोगहरूको जोखिममा परेका छन् ।  

दस वटा वडाहरू रहेको यस बाँफीकोट गाउँपालिकाको सबै भन्दा ठुलो वडा रहेको २ नम्बर वडाका वसन टाकुरा, वसनी गैरा, माथिल्लो बसेनि टाकुरा, प्यालचीउरा, थारकाट्टे, जोगि मेला, काक्री बाङ, भलाचौर, रुनेपानि, पूर्ण गाउँ, छिपछिबी लगाएतका टोलहरूमा कतै पानी बोकेर पिउनुपर्छ भने कतिपय ठाउँमा नाला र मुहानबाट व्यक्तिगत पाइप लाइन लगेर पानी पिउँदै आइरहेको स्थानीय बिपना पौडेलले बताउनुभयो ।

“एक सय भन्दा बढी घरधुरीले एक घर एक धारा निर्माण गरि शुद्ध पानी पिउन ९ वटा पानी ट्याङ्की बनाइएको तर २ बर्ष पुग्दा पनि धाराको पानी पिउन नसकी नहर र कुलाको फोहोर पानी पिउनु परेको छ ।” गोगन पानी मुहानबाट ल्याइएको उक्त नहर र कुलोको पानीमा कीराकाट्टीहरु मरेको हुन्छ कसैले त्यहीँ कुलोमा भाडा माझने, बालबच्चाहरूले नहर कुलोमा ढुङ्गा अडाएर पौडी खेल्ने त्यहीँ दिसापिसाब गर्छन् अनि त्यहीँ पानी पिउँदा बेलाबेलामा हामी बिरामी हुने गरेका छौ ,” उहाँले गुनासो गर्नुभयो।

उक्त एक घर एक धारा खानेपानी आयोजना क्रमागत भए पनि यो भन्दा अगाडि आएको बजेट सकिएकाले योजना सम्पन्न हुन नसकेको बाँफीकोट गाउँपालिका वडा नम्बर २ का वडा सदस्य देउमी पौडेलले बताउनुभयो । योजना क्रमागत भएकाले बजेट आयपछि काम सुचारु हुने र त्यो भन्दा अघि एक घर एक धारा निर्माण कार्यलाई पूर्णता दिन वडाको बजेटले नधान्ने उहाँको भनाइ छ  ।

वडा अध्यक्ष प्रकाश खत्रीले भने स्थानीयहरूले पानी पिउनै नपाएको भन्ने साँचो नभएको तर हिउँदमा आगलागी हुँदा खानेपानीको पाइप लाइनमा आगोले क्षति पुगेकाले एक घर एक धारा निर्माण कार्य पुरा हुन नसक्दा स्थानीयहरूले पुग्ने गरि पानी पिउन नसकेको कुरा साँचो भएको स्वीकार गर्नुभयो । “यो पानी हामीले सधैँ पिउँदै आइरहेका छौँ, पानी शुद्ध नै छ । नपत्याए सम्बन्धित निकाय सबै आउनुस् सँगै जाउँला बरु म सहजीकरण गर्छु ।” उहाँले भन्नुभयो ।

तर स्थानीयले भने पानी कुनै पनि तवरले शुद्ध नभएको भन्दै गुनासो गरेका छन् । पछिल्लो समय स्वास्थ्य संस्थाहरूले विभिन्न खानेपानिका मुहान तथा धाराहरूमा पानी परिक्षण गर्दा पानीमा विभिन्न हानिकारक जीवाणुहरू तथा दिशामा पाइने इकोली समेत फेला पर्ने गरेको छ ।

स्वास्थ्य कार्यालय रुकुम पश्चिमका जनस्वास्थ्य अधिकृत काली बहादुर ओलीका अनुसार त्यसरी नहर तथा कुलोको खुल्ला र दूषित पानीलाई शुद्ध भन्न नसकिने बताउँदै यस्तो पानी पिउनाले विभिन्न मनसुनजन्य रोगहरू लाग्ने सम्भावना उच्च हुने बताउनुभयो । उहाँले त्यस्तो पानीलाई उमालेर वा विभिन्न पानी शुद्धीकरण गर्ने तरिका अपनाउन अनुरोध गर्दै समस्या समाधानकालागि राजनीतिक तथा सरकारवालाले चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button