तपाईँ सुन्दै हुनुहुन्छः

कोजाग्रत उत्सवको पाहुर परम्परा थेग्दै महोत्तरीको ठाकुर परिवार

महोत्तरी। जनकपुरधामस्थित जानकी मन्दिरमा हिजो बिहीबार सम्पन्न कोेजाग्रत उत्सवमा रामसीताको ‘चुमाउन’ का लागि महोत्तरीको रतौली गाउँको ठाकुर परिवारले पाहुर दिने परम्परालाई निरन्तरता दिएको छ ।

कोजाग्रत पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवको मैथिल परम्परामा वरवधु पूजन विधिको ‘चुमाउन’ रतौलीका महेन्द्रप्रसाद ठाकुरले बसाल्नु भएको पाहुर पु¥याउने परम्परा उहाँका सन्तानले यो वर्ष पनि निरन्तरता दिएका हुन् । यसै परम्पराअनुसार हिजो साँझ ठाकुर परिवारबाट १०१ वटा पाहुरका भार जानकी मन्दिर पुर्‍ याइएको थियो ।

पाहुरमा रामजानकीका लागि वस्त्र,आभूषण, खाद्यान्न, विविध परिकार, पान र मखानसहितका छुट्टाछुट्टै भार (सोली, मधेसमा चङेरामा यी सामान राखिन्छन्) राखिने चलन छ । जानकी मन्दिरमा प्रत्येक असोज पूर्णिमाका दिन मनाइने कोजाग्रत उत्सवमा रामजानकीको ‘चुमाउन’ का लागि १०१ पाहुर (कोसेलीका सोली) ठाकुर परिवारले जनकपुर पु¥याएको हो । यो उत्सवमा श्रीराम र सीतालाई वस्त्रआभूषणसहित मिष्टान्न अर्पण गरिन्छ । यसलाई ‘चुमाउन’ भनिन्छ । यसै उत्सवका लागि महेन्द्रप्रसाद ठाकुरका पछिल्लो पुस्ताका नवीन ठाकुरले यसपालिको ‘चुमाउन’ सामग्रीका भार जानकी मन्दिर पुर्‍ याउनु भएको हो ।

ठाकुर परिवारले यो थिति १४१ वर्षदेखि थेग्दै आएको छ । मिथिलाको यो विशिष्ट संस्कृतिमा आफ्नो परिवारको संलग्नताको अवसरलाई ईश्वर कृपाका रुपमा नविन ठाकुर अथ्र्याउनु हुन्छ । “भगवान् श्रीराम र माता जानकीको कृपा छ, हामीले यो परम्परा बोक्न पाएका छौं” नवीन भन्नुहुन्छ, “यसलाई सधैसधैं निरन्तरता दिने हाम्रो प्रयत्न रहने छ ।”

कोेजाग्रत उत्सवमा जानकी मन्दिरले सांस्कृतिक उत्सवका कार्यक्रम आयोजन गर्दै आएको छ । यस समारोहमा सीताराम सङ्कीर्तनसहित वरवधु पक्षबीच (यहाँ वरपक्ष जनकपुरधामस्थित श्रीराम मन्दिर र दुलहीपक्ष जानकी मन्दिर हुने परम्परा छ ।) दुवैपक्षबीच हुने ठट्यौलीले अघि त्रेता युगमा अयोध्याका राजा दशरथ र मिथिलाका राजा शिरध्वज जनकबीच भएका ख्यालठट्टाको झल्को दिने गरेको मिथिलाक्षेत्रका साहित्यकार राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

मिथिलामा कोजाग्रत पूर्णिमाका दिन नव वरवधुको ‘चुमाउन’ गर्ने परम्परा रामायणकालदेखिकै मानिन्छ । मिथिलाका मैथिल ब्राह्मण र कायस्थ जातिमा यो चलन आजपर्यन्त जारी छ । पछिल्लो एक वर्षमा विवाह गरेका वरलाई ‘चुमाउन’ दिन दुलहीपक्ष भार लिएर दुलाहाको घर पुग्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button