तपाईँ सुन्दै हुनुहुन्छः

पञ्चासेको धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदेश प्रमुख भट्टको चासो

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको बृहत् विकासको लागि धार्मिक पर्यटन प्रवर्द्धन हुने गरी विभिन्न कार्यक्रम गर्न आग्रह गर्नुभयो । 

पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्दै उहाँले प्रदेशको धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको दाबी गर्दै पञ्चासे क्षेत्र धार्मिक पर्यटनको समेत केन्द्र हुन सक्ने जनाउनुभयो । प्रदेश प्रमुख भट्टले प्रमुख पञ्चधाम अर्थात् पञ्चासेधाम गण्डकी प्रदेशमै रहेकाले यसको प्रचारप्रसार तथा प्रवर्द्धनको खाँचो रहेको बताउनुभयो ।  

पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेमा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको थियो ।  

पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो ।  

पोखरा लेक साइडदेखि २८ किमीको मोटर बाटोको यात्रा तय गरेपछि पञ्चासे क्षेत्रको मुख्य प्रवेशद्वारका रूपमा रहेको भञ्ज्याङसम्म पुगिन्छ । त्यहाँबाट बढीमा २ घण्टा उकालो पैदलयात्रा गरी पञ्चासेकोट पुगिन्छ । भञ्ज्याङ पुग्न कास्कीको पोखराका साथै पर्वत तथा स्याङ्जाबाट पनि छुट्टाछुट्टै बाटा छन् । 

नेपाल सरकारले पनि पञ्चासेलाई महत्व दिएको छ । ७ प्रदेशका एक–एक स्थानलाई नमुना पर्यटन गन्तव्य बनाउने योजना अनुरुप कोशीको सन्दकपुर, मधेशको जनकपुर, बागमतीको इन्द्रसरोवर, गण्डकीको पञ्चासे, लुम्बिनीको देवदह, कर्णालीको राराताल र सुदूरपश्चिमको भादा गाउँलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button