तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थी टिकाउ दर बढ्दै

काठमाडौँ । शैक्षिक सत्र २०८० मा विद्यालय तहका विद्यार्थीको टिकाउ दर क्रमशः बढ्दै गएको छ । 

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाको बैठकमा आज प्रस्तुत आर्थिक सर्वेक्षण, २०८०/८१ मा शैक्षिक सत्र २०८० मा कक्षा आठसम्मको टिकाउ दर ८६ दशमलव दुई प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६९ दशमलव नौ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३७ दशमलव दुई प्रतिशत पुगेको उल्लेख गरिएको छ ।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीको टिकाउ दर कक्षा आठ, कक्षा १० र कक्षा १२ सम्म क्रमशः ८५ दशमलव सात, ३७ दशमलव तीन र ३५ दशमलव छ प्रतिशत रहेको थियो । प्रारम्भिक बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षा सञ्चालन बढेपछि औपचारिक शिक्षाको गुणस्तर वृद्धिमा योगदान पुगेको हो ।

सर्वेक्षणमा शैक्षिक सत्र २०८० मा माध्यमिक तह (९-१२) को खुद भर्नादर गत वर्षको भन्दा शून्य दशमलव पाँच प्रतिशतले बढेर ५७ दशमलव नौ पुगेको उल्लेख गरिएको छ । यसैगरी कक्षा १ मा खुद भर्नादर ९५ दशमलव सात तथा आधारभूत तह (१-५) मा ९५ दशमलव ५ र कक्षा १-८ मा ९५ दशमलव एक प्रतिशत रहेको छ ।

गत फागुनसम्ममा पूर्ण साक्षर घोषणा भएका जिल्लाको प्रतिशत ६४ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान आठ दशमलव पाँच प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्षमा आठ दशमलव तीन प्रतिशत रहेको थियो । यस अवधिमा शिक्षा क्षेत्रको कूल मूल्यवृद्धि दुई दशमलव सात प्रतिशतले विस्तार हुने अनुमान छ । गत आर्थिक वर्षमा तीन दशमलव नौ प्रतिशत रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button