तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा १३२ केभिएको सव स्टेशन निर्माण अन्तिम चरणमा

गुल्मी । गुल्मी जिल्लामा पटक-पटक विद्युत् आउने जाने समस्या झेल्दै आइरहेका गुल्मी बासीको समस्या समाधान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ उनायचौरमा १३२ केभीए लाइनको सवस्टेशन निर्माणकार्य अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुशी भएका छन् ।

गुल्मीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । बत्ती जाने समस्याबाट आजित भएको गुल्मेलीहरूमा विद्युत् सव स्टेशनको काम पुरा भएसँगै समस्याको हल हुने रेसुङ्गा नगरपालिका -७ का स्थानीय हिमलाल पन्थीको भनाई छ ।

सव स्टेसनसम्म आवश्यक पर्ने सम्पूर्ण निर्माणका काम सकेर अहिले ट्रान्सफर्मर चार्ज गर्ने कार्य भइरहेको उनाएचौर सव स्टेसनका स्टोर प्रमुख नारायण थापाले बताउनुभयो । जेठ महिनाभर चार्ज गर्ने काम सकेर विद्युत् वितरण गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।  

यन्त्र उपकारण लगायतका चेक जाँच गर्न भारतबाट आएको प्राविधिक टोलीले काम गरिरहेको छ ।   हाल जिल्लामा बुटवलबाट ३३ केभिए मार्फत आइरहेको विद्युत् विभिन्न कारणले छिन-छिनमा आउने जाने समस्या हुने गरेको छ । पहाडी क्षेत्रमा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १३२ केभीए बिस्तार गरिएको छ । 

 केन्द्रीय प्रसारण लाइनको विद्युत् गुल्मीमा जोडिए पनि लामो दुरीमा बुटवलमा रहेको सव स्टेसनले गर्दा विभिन्न समस्याहरू देखा पर्दै गएकाले छुट्टै सव स्टेशन निर्माण थालिएको हो । नेपाल विद्युत् प्राधिकरणको ४५ करोड लागतमा विद्युत् सव स्टेशन निर्माण सुरु भएको हो । 

 सव स्टेशनको सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको थियो । केन्द्रिय प्रसारण लाइनको पहुँच पुर्‍याउनका लागि सव स्टेशन निर्माण भएको हो ।  कपिलवस्तुको मोतीपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बागलुङको बुर्तिबाङसम्म पुग्नेछ । अहिले १३२ केभिए मार्फत अर्घाखाँचीमा विद्युत् वितरण भइरहेको छ । 

 नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची गुल्मी र बागलुङ जिल्लामा विद्युतलाई भर पर्दो तरिकाले विस्तार गर्न विभिन्न ठाउँमा सव स्टेशन निर्माणको काम गरेको हो । सव–स्टेसनले विद्युतीय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्नेछ । 

२०७७ भदौ २४ गते उनाएचौरमा १३२ केभिएको सव स्टेशन निर्माणको शिलान्यास भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button