तपाईँ सुन्दै हुनुहुन्छः

स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस एक अर्कामा परिपूरक : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पत्रकारले अदालतको संवेदनशीलतालाई बुझेर गरिने यथार्थपरक र व्यावसायिक पत्रकारिताले न्यायपालिकाको थप विश्वास बढ्ने बताउनुभएको छ ।

सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा धुलिखेलमा आज आयोजित अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस एक अर्कामा परिपूरक रहेको उल्लेख गर्नुहुँदै दुवैको मूल उद्देश्य सामाजिक न्याय रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले अदालतको संवेदनशीलता र गम्भीरता बुझिदिन आग्रह गर्दै तथ्य र यथार्थपरक सूचना सम्प्रेषणले अदालतको जनआस्था अभिवृद्धि हुने स्पष्ट पार्नुभयो ।

न्यायाधीश हरिप्रसाद फुयाँलले हाई प्रोफाइल केसमा मिडिया ट्रायल हुने गरेको उल्लेख गर्नुहुँदै अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले अदालती रिपोर्टिङमा राजनीतिक विषयलाई छुट्याउने चुनौती रहेको भन्नुहुँदै अदालतको संवेदनशीलतालाई बुझेर यथार्थपरक सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयका सूचना सम्प्रेषणलाई सत्य तथ्य र यथार्थपरक बनाउन व्यावसायिकता अभिबृद्धिमा सहयोग पुर्‍याउन कार्यशाला राखिएको बताउनुभयो । अध्यक्ष खड्काले कार्यशालामा अदालती रिपोर्टिङको गाइडलाइन तयार गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button