तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको समावेशी सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम दाङमा सुरु 

दाङ । समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एव व्यापार प्रवर्द्धन अन्तरक्रिया कार्यक्रम दाङमा सुरु भएको छ ।

रेडियो प्रसार सेवा बिकास समिति (रेडियो नेपाल) को आयोजनामा कार्यक्रम सुरु भएको हो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुभएको हो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुबेदीले १६औँ योजनामा रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउने लक्ष्य राखेको बताउनुभयो । साथै उहाँले सबै जनताको पहुँचमा रेडियो नेपाललाई पुर्‍याउन निरन्तर प्रयासमा रहेको बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले मगर खाम, अवधि र पश्चिमा थारु भाषाका कार्यपत्रहरु कार्यक्रममा प्रस्तुत हुने समेत बताउनुभयो ।

कार्यक्रममा मगर खाम भाषाको कार्यपत्र हितबहादुर मगर, अवधि भाषाको भगवानदाश यादव र पश्चिमा थारु भाषाको छविलाल कोपिलाले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, नेपाली काङ्ग्रेसका जिल्ला सहसचिव राजु आचार्य, एमाले दाङका सचिव श्याम डाङ्गी, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्यले बोल्नुभएको थियो । 

कार्यक्रममा निजी क्षेत्रका उद्योगी, व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

रेडियो नेपालले समावेशी प्रसार सामग्री उत्पादन र प्रसारण प्रविधिका लागि तालिमको आयोजना गरेको हो । कार्यक्रम जेठ ९ गतेदेखि सुरु भई जेठ १४ गते सम्पन्न हुने जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button