तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ

पोखरा । पोखराको एक सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ परेका छन् । पोखरा ३० शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा मङ्गलवार २ः०० बजे तोडफोड गरेको आरोपमा ३ महिलासहित ९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

सहकारीका कर्मचारीमाथि हातपात गरेको, कागजपत्र हिनामिना तथा टेलिफोन एवं नेटको तार समेतमा क्षति पुर्याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरूमा पोखरा २७ लेखनाथ बस्ने ४९ बर्षकी कृष्ण कुमारी चौरेली, रुपन्देही ११ की ४७ बर्षीया कमला चन्द, नवलपरासी घर भएको बताउने ४२ वर्षीया बिष्णु बोहरा, कास्की माछापुच्छ्रे गाउँपालिका ५ रिवान बस्ने ३६ वर्षका प्रकाश बि.क., झापा भद्रपुर नगरपालिका ३ बस्ने ४० वर्ष का राजीव प्रसाईँ छन् । त्यसैगरी पोखरा २७ लेखनाथ बस्ने ४२ वर्षका गणेश शाही, पोखरा २७ लेखनाथका २९ वर्षका समिन बि.क, पोखरा २७ लेखनाथ बस्ने २७ वर्षका संजिप सुनार र पोखरा २७ लेखनाथका ५२ वर्षका यम ब.चौरेली पक्राउ परेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button