तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा वाईवाई यु–१९ क्रिकेट सुरु

पोखरा । टिम विन्ध्यवासिनी र टिम वाराहीले यू–१९ वाईवाई कप कास्की जिल्ला पुरुष क्रिकेट छनौट प्रतियोगिता २०८१ मा विजयी सुरुवात गरेका छन् ।

कास्की जिल्ला क्रिकेट सङ्घको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा मङ्गलवारदेखि पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा प्रतियोगिताको उद्घाटन खेलमा विन्ध्यवासिनीले टिम भद्रकालीलाई नौ विकेट र दोस्रो खेलमा वाराहीले टिम अकलालाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।

२५ ओभरमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको भद्रकालीले २५ ओभर खेल्दै नौ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । एक सय १६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको विन्ध्यवासिनीले १५.४ ओभर खेल्दै एक विकेट गुमाएर एक सय १६ रन बनाएर लक्ष्य पुरा गरेको थियो ।

दोस्रो खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अकला १४.६ ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ५५ रनमा समेटिएको थियो । ५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको वाराहीले ८.४ ओभर खेल्दै तीन विकेट गुमाएर ६१ रन बनाउँदै लक्ष्य पुरा गरेको थियो ।

चार टोली सहभागी प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले अम्पायर द्वय भोजराज बराल र दिलीप अग्रहरीलाई बल हस्तान्तरण गदै गर्नुभएको थियो ।

त्यस अवसरमा मेयर आचार्यले क्रिकेट सम्भावना बोकेको खेल भएकाले क्रिकेटको विकासका लागि आउँदो आर्थिक वर्ष महानगरले बजेट वृद्धि गर्ने बताउनुभयो ।

आयोजक संघ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताका लागि पहिलो चरणमा सहभागी ८४ जना खेलाडीहरूबाट ४८ जना छनौट गरि चार टिम बनाइएको जानकारी दिनुभयो ।

प्रतियोगितापछि गण्डकी प्रदेश प्रतियोगिता हुने भएकाले जारी प्रतियोगिताबाट १४ जना खेलाडी छनौट गरिने छ । ११ गतेसम्म जारी रहने प्रतियोगितामा बिहीबार र शुक्रबार दुई/दुई खेल हुने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button