तपाईँ सुन्दै हुनुहुन्छः

रायसीको निधनले इरानको विदेश नीति परिवर्तन हुने सम्भावना छैन– विश्लेषकहरू

पेरिस। हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनले राजनीतिक अस्थिरता आउन सक्ने भए पनि यसले इरानको विदेश नीति वा मध्यपूर्वमा उसको भूमिका परिवर्तन गर्ने सम्भावना नभएको विश्लेषकरूले सोमबार बताएका छन् ।

कट्टरपन्थी धर्मगुरु रायसीलाई इरानमा अन्तिम अधिकार भएका ८५ वर्षीय सर्वोच्च नेता अली खामेनीको उत्तराधिकारी मानिन्थ्यो । रायसीको निधनले राजनीतक व्यवस्थालाई स्थिरता सुनिश्चित गर्न मुलुकका अधिकारीहरूका लागि चुनौती दिनेछ ।

तथापि विश्लेषकहरूले आयातुल्लाह खामेनी तथा गोप्य सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को डोमेन इरानको विदेश नीतिको निरन्तरतामा विश्लेषकहरूले बाजी लगाइरहेका छन् ।

“रायसीको जस्तै रूढिवादी तथा व्यवस्थाप्रति वफादार एउटा उत्तराधिकारी देखा पर्न सक्छ”, इन्टरनेसनल क्राइसिस ग्रुपका इरान विशेषज्ञ अली भाएजले सामाजिक सञ्जाल एक्समा ‘परिवर्तनभन्दा बढी निरन्तरता’ को आशा गर्दै भन्नुभयो, “विदेश नीतिमा सर्वोच्च नेता र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले रणनीतिक निर्णयहरूमा प्रभुत्व जमाउन जारी राख्नेछन् ।”

फाउन्डेसन जिन–जौरेसका इरान विशेषज्ञ फरिद वाहिदले भन्नुभयो, “रायसी पूर्णरूपमा गार्ड कोरसँग नजिक हुनुहुन्थ्यो, उहाँले यस क्षेत्रमा गार्डका लागि धेरै स्थान र स्वतन्त्रता दिनुभएको थियो ।” उहाँका अनुसार रायसी पूर्णरूपमा नेताको अधीनमा हुनुभएकाले उहाँसँग निर्णय लिने काम एकदमै तरल थियो ।

“इरानी रूढिवादीहरूका लागि प्रश्न भनेको अत्यन्त धेरै समस्या उत्पन्न नगर्ने कुनै व्यक्तिलाई खोजेर निर्वाचित गर्नु हो”, उहाँले भन्नुभयो । इरानमा ५० दिनभित्र राष्ट्रपति निर्वाचन गर्न रायसीको स्थानमा ६८ वर्षीय उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम कार्यभार सुम्पिएको छ ।

रायसीको निधन यस्तो समयमा भएको छ जतिबेला अक्टोबर ७ मा इजराइलमाथि हमासको आक्रमणबाट गाजामा युद्ध सुरु भएपछि इरान र इजराइलबीच तनाव बढिरहेको छ । इरानले इजराइलविरुद्ध तीन सय ५० ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै अभूतपूर्व आक्रमण गर्दा अप्रिलको मध्यमा त्यो तनाव चरम अवस्थामा थियो । अमेरिका र अन्य सहयोगी मुलुकको सहयोगमा ती ड्रोन र क्षेप्यास्त्रलाई रोकिएको थियो ।

तेहरानले इजराइलविरुद्ध लेबनानको हिजबुल्लाह, प्यालेस्टिनी इस्लामिक समूह हमास र यमनमा हुथी विद्रोहीसहितका सशस्त्र समूहको नेटवर्कको कथित प्रतिरोधको धुरीलाई पनि समर्थन गर्दछ ।

“यो यथास्थिति रहने छ”, मिडिल इस्ट इन्स्टिच्युटका विशेषज्ञ जेसन ब्रोडस्कीले ती समूहरूसँग इरानको सम्बन्धका बारेमा भन्नुभयो, “इस्लामिक रिभोल्युसनरी गार्ड कोरले सर्वोच्च नेतालाई रिपोर्ट गर्छ र हिजबुल्लाह, हुथी, हमास र सम्पूर्ण क्षेत्रमा मिलिसियासँग सम्पर्क गर्दछ, इरानको कार्यप्रणाली र भव्य रणनीति त्यही रहनेछ, प्रणालीमा रणनीतिक निर्णय लिने सर्वोच्च नेता हुन्छ र कार्यान्वयनकर्ता राष्ट्रपति हुन्छ ।”

इरानले आणविक हतियार हासिल गर्न खोजेको कुरालाई अस्वीकार गर्दै आएको छ तर उसले अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्ने विश्व शक्तिहरूसँगको सन् २०१५ को सम्झौताअन्तर्गत आफ्ना प्रतिबद्धताहरूलाई पालना गरिरहेको छैन ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले एकतर्फी फिर्ता लिएको जेसिपिओए नामक उक्त सम्झौता भङ्ग भएपछि इरानमाथि पुनः कडा प्रतिबन्ध लगाइयो ।

हेलिकप्टर दुर्घटनामा निधन भएका शीर्ष कूटनीतिज्ञ होसेन अमिर–अब्दुल्लाहियानको स्थानमा सोमबार इरानको लामो समयसम्म आणविक वार्ताकार अली बघेरीलाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।

जेनेभामा अरब र भूमध्यसागरीय विश्वको अध्ययन तथा अनुसन्धान केन्द्रका निर्देशक हसनी आबिदीले एक्समा भन्नुभयो, “इरानी विदेश मन्त्रालयसँग पहिलादेखि नै एक नयाँ प्रमुख छन् र प्राथमिकता त्यही छ ः आणविक कार्यक्रममा वार्ता ।”

ब्रोडस्कीले भन्नुभयो, “इरानको आणविक कार्यक्रम र यसको वरपरको निर्णय अपरिवर्तित हुनेछ किनकी अन्त्यमा आणविक फाइलको निरीक्षण गरिरहेको सर्वोच्च नेता र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् छ ।”

त्रिसठ्ठी वर्षीय अतिरूढिवादी रायसी सन् २०२१ देखि राष्ट्रपति पदमा हुनुहुन्थ्यो । उक्त समयमा इरानलाई ठूलो मात्रामा जनविरोध र अमेरिकी प्रतिबन्धहरूका कारण आर्थिक सङ्कटले हल्लाएको थियो ।

आबिदीका अनुसार अर्को सर्वोच्च नेताको खोज गेम चेन्जर हुनेछ । “रायसी भावी नेता हुनुहुन्थ्यो, उहाँलाई व्यवस्थाको सबै तत्वको समर्थन प्राप्त थियो”, उहाँले भन्नुभयो ।

वाहिदका अनुसार ‘शासन परिवर्तन’ भए मात्र इजराइल वा संयुक्त राज्य अमेरिका वा तिनीहरूको आणविक कार्यक्रमप्रति इरानको विदेश नीतिमा आमूल परिवर्तन हुनेछ । “रायसीको निधनले केही फरक र केही मतभेद ल्याउन सक्छ तर जबसम्म नेता जिउँदै र गार्डहरू रहुन्जेल कुनै ठूलो परिवर्तनको आशा गर्नु हुँदैन ।”एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button