तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक अनुभव, स्वदेशमा प्रयोग

कपिलवस्तु । वैदेशिक रोजगारीमा यतिबेला दिनहुँ हजारौँ युवा भौँतारी रहेका छन् । रोजगारीको वातावरण छैन । आर्थिक मन्दीले देश मात्रै होइन, विदेशमा समेत प्रभावित बनेको छ । जटिल परिस्थितिको सामना गर्दै ३० वर्षीय युवा अल्मुनियम फुड कन्टेर उद्योगमै जीवन आचार्य व्यस्त देखिनुहुन्छ । कपिलवस्तुको शिवराज नगरपालिका–११, जालिम बगियामा केही बर्ष पहिले उहाँले सञ्चालन गर्नुभएको हो ।

आचार्यले भन्नुभयो– ‘२०७२ सालमा स्नातक तहको अध्ययन सकाए । रोजगारीको सिलसिलामा भौँतारी रहेको थिएँ । २०७४ सालमा वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेँ । त्यहाँ एरवेजमा क्यासियरको रुपमा कार्यरत थिएँ । काम गर्ने ठाउँमा कन्टेनर प्याकिङ भएका फुड बढी मात्रमा प्रयोग हुन्थ्यो ।’ 

करिब तीन बर्ष कतारको बसाइपछि उहाँ नेपाल फर्किनुभयो । त्यसपछि ६ महिनासम्म नेपाल–भारतमा रहेका उद्योगका अवलोकन गर्नुभयो । विदेशको आम्दानीबाट बचत भएको ३५ लाख खर्च गरी मेसिन खरिद गर्नुभयो । अहिले उद्योगमा डेढ करोड बढी लगानी गर्नुभएको छ । उहाँले भन्नुभयो,– ‘मैले उद्योग खोल्न सुरु गर्दा करिब आधा दर्जन उद्योग खुलेको थाहा पाएको थिएँ । उद्योगको सङ्ख्या न्यून देखिएपछि लगानी गरेको थिएँ । अहिले २ दर्जन बढी उद्योग भइसकेका छन् । पहिला प्लास्टिकको थैली, कागज वा पातले बनेका प्याकेटमा खाजा प्याक गर्ने प्रचलन थियो । 

अहिले एल्मुनियम कन्टेनरको प्रयोग ग्रामीण भेगमा समेत पुगेको छ । माग बढ्दै गएपछि चीनमा बनेको आधुनिक मेसिन प्रयोग गरिएको आचार्यले जनाउनुभयो । जसले दैनिक उत्पादन क्षमता ३ लाख रहेको उहाँले बताउनुभयो । हाल आर्थिक मन्दीले माग कम हुँदा दैनिक करिब १ लाख उत्पादन भइरहेको उहाँको भनाई छ । स्थानीय बजारमा यसको माग बढे पनि खुद्रा व्यापारमा समय धेरै खर्च हुनेगरेको छ । सीमावर्ती क्षेत्रबाट अवैध रूपले भित्रिने भएको हुँदा बिक्री न्यून छ । 

कपिलवस्तु जिल्ला लगायत बुटवल, भैरहवा, काठमाडौँ, वीरगन्ज, नेपालगन्ज, धनगढीबाट माग आउने गरेको आचार्यले बताउनुभयो । उद्योगमा मेसिन अपरेटरसहित पाँच जना कामदार छन् । चिन र भारतबाट मासिक आठ मेट्रिक टन कच्चा पदार्थ खपत हुने गरेको छ । उत्पादनका आधारमा देशभरिका उत्कृष्ट पाँच उद्योगभित्र पर्ने आचार्यको दाबी छ । उहाँले विदेशमा बुनेका सपना सुरुमा असफल भएपनि प्रयास गर्न भने छाड्नुभएन दोस्रो पटकको प्रयासले सफल बनेको अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button