तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई प्रोत्साहित गर्न ५ हजार फुलका बिरुवा रोपियो

वीरगञ्ज । कृषि उद्यममा लागेका युवालाई प्रोत्साहित गर्न वीरगन्ज महानगरपालिका नगर प्रमुखसहित सुरक्षा निकायका प्रमुख लगायतले खेतमै पुगेर ५ हजार बढी फुलका बिरुवा रोप्नुभएको छ ।

वीरगन्ज महानगरपालिका–१६ इनर्वामा स्थानीय युवा रमेश पटेलले ६ महिना पहिलेदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । कृषि उद्यममा लागेका पटेललाई प्रोत्साहित गर्न ग्रिन सिटी सामुदायिक केन्द्रको पहलमा वीरगन्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल सहितको टोलीले फूलको व्यावसायिक खेती भइरहेको जग्गामा पाँच हजार बढी फूलको बिरुवा रोपेको हो ।

पटेलको १० कट्ठामा फैलिएको बगैँचामा गुलाब, सयपत्री, कामनी लगायतका प्रजातिका ५ हजार बढी बिरुवा रोपिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो । रोजगारीको अभावमा युवाहरू विदेश पलायन भइरहेको अवस्थामा पटेलले आफ्नै माटोमा केही गर्छु भनेर कृषि उद्यम गरिरहेकोले उहाँलाई प्रोत्साहित गर्न खेतमै पुगेर पाँच हजार बढी बिरुवा रोपिदिएको खेतानले बताउनुभयो ।

त्यस अवसरमा वीरगन्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले पटेल जस्ता कृषि उद्यममा लागेका युवाहरूलाई महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button