तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रम ओलीद्वारा एसियाली राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्डको शिलान्यास

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको छ ।

कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उहाँले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताउनुभयो ।

उहाँले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ आयाम थपिने र आर्थिक विकासको नयाँ नयाँ अवसर सिर्जना हुने बताउनुभयो । “उत्पादन र रोजगारीसँग जोड्ने भएकाले एसियाली राजमार्गलाई नेपालले सदुपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

शिलान्यास कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्झौतामा उल्लेख भएकै तीन वर्ष अवधिमा एसियाली राजमार्गको निर्माण सम्पन्न हुने बताउनुभयो ।

उहाँले राजमार्गको निर्माण विश्वस्तरीय हुने र निर्माण सम्पन्न भएको छ वर्षसम्म निर्माण कम्पनीले नै मर्मत सम्भारको जिम्मेवारी बहन गर्ने सम्झौता रहेको जानकारी दिनुभयो ।

भारत सरकारले पूर्वपश्चिम राजमार्गको प्रस्थान विन्दु काँकडभिट्टाको पाँच मिटर भित्रसम्म एसियाली राजमार्गको निर्माण दुई वर्षअघि नै गरिसकिएको छ भने मेची नदीमा नयाँ पुल पनि बनिसकेको छ । अब काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ दशमलव ७६ किलोमिटर सडकको स्तरोन्नति कार्यको सुरुआत भएको छ ।

‘एएचटु’ नाम दिइएको यो अन्तरदेशीय राजमार्ग एसियाली विकास बैङ्कको सहयोगमा बन्ने भएको हो । यस आयोजनाका लागि एसियाली विकास बैंकले तीन सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ भने नेपाल सरकारले ६२ दशमलव ४७ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।

सडक विभागको आयोजना निर्देशनालय (एडिबी) मातहत निर्माण हुने यस राजमार्गलाई दुई खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो ।

काँकडभिट्टादेखि केरखासम्मको ४५ किमी लम्बाइ भएको पूर्वी खण्ड रहेको छ भने केरखादेखि इटहरीसम्मको ५० दशमलव ७६ किलोमिटर पश्चिम खण्ड रहेको छ ।

गत कात्तिक २ गते ठेक्का सम्झौता भएको यो राजमार्गको निर्माण कार्य अजरवैजान र चिनियाँ निर्माण कम्पनीले नेपाली कम्पनीसँग मिलेर गरिरहेको छ । विसं २०८३ माघ १९ गते अर्थात् तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको छ ।

राजमार्ग निर्माण क्रममा ५२ पुल, दुई सय ८९ कल्भर्ट, १० सवारी गुड्ने ओभरपास, तीन पैदल ओभरपास, १८ पैदलयात्री अन्डरपास र १२ ‘एनिमल क्रसिङ ब्रिज’ बनाइने पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button