तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक : आठ देशका लागि राजदूत सिफारिस

काठमाडौँ । सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको छ । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रञ्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि नेपाली राजदूतमा अबुसुफ्यान खानलाई सिफारिस गरिएको कानुनमन्त्री पदम गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतनिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ भने सदस्यहरूमा डा. मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री गिरीले जानकारी दिनुभयो ।

यस्तै राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरिएको गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button