तपाईँ सुन्दै हुनुहुन्छः

आय-आर्जनमा जोडिन गलैँचा बुन्दै अपाङ्गता भएकाहरू  

नवलपुर । मध्यविन्दु -२ निवासी माया बोटेको दैनिकी अहिले गलैँचा बुन्नेमै बित्ने गरेको छ । उहाँ शारीरिक अपाङ्गता हुनुहुन्छ । तर उहाँले आफूलाई कमजोर भने कहिल्यै ठान्नुभएन । अवसर पाए सपाङ्ग सरह नै काम गर्न सक्छु भन्ने साहस उहाँमा पहिले देखी नै थियो । गलैँचा बुन्ने तालिम आएको छ भनेपछि उहाँ सहभागी हुनुभयो । अहिले उहाँले राम्रोसँग गलैँचा बुन्न पनि सिकिसक्नुभएको छ । 

मध्यविन्दु -७ चोरमारामा रहेको अपाङ्ग पुनर्स्थापना समन्वय परिषद्को समन्वय र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा गत वैशाख २५ गतेदेखि चोर मारामा गलैँचा बुन्ने तालिम सुरु भएको थियो । ४५ दिने उक्त तालिममा सहभागी भएको छोटो समयमै गलैँचा बुन्न सिकेको बोटेले बताउनुभयो । हातले गर्ने काम भएकाले पनि धेरै गाह्रो भने नभएको उहाँले बताउनुभयो । 

उहाँ जस्तै शारीरिक रुपमा अशक्त रहेका मध्यविन्दु ८ का गङ्गाराम महतो पनि गलैँचा बुन्ने तालिममा सहभागी हुनुभएको छ । सीप सिक्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । गलैँचा बुन्दै गर्दा कुनै बेला सजिलो लाग्ने कुनै बेला गाह्रो पनि लाग्ने अनुभव उहाँले बताउनुभयो । 

असार १० गतेसम्म सञ्चालन हुने यस तालिममा मध्य विन्दुका अपाङ्गता भएका र अपाङ्गता भएका व्यक्तिका परिवार समेत गरि १७ जना सहभागी छन् । दिनभरिको खाली समयको सदुपयोग गर्दै तालिममा सहभागी हुने र साँझ बिहानको समय घरको कामधन्दा समेत भ्याउने गरेका छन् । 

अपाङ्गता भएका व्यक्तिहरूको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले सामाजिक विकास कार्यालयसँग समन्वय गरेर तालिम सञ्चालन गरेको अपाङ्गता पुनर्स्थापन समन्वय परिषद्का अध्यक्ष सागर लुइँटेलले बताउनुभयो । सपाङ्ग व्यक्तिहरू अन्यत्र गएर पनि अवसर लिन सक्ने तर अपाङ्गता भएकाहरूका लागि त्यति सहज नहुने हुँदा आफ्नै ठाउँमा सीप सिकेर आयआर्जनमा जोड्नका लागि तालिमले सहयोग गर्ने उहाँको भनाई छ । 

तालिममा सहभागी सबैले अब गलैँचा बुन्न सक्ने भएको बताएका छन् । तालिमपछि गलैँचाको व्यवसाय गर्न इच्छा समेत जाहेर गरेका छन् । तर त्यसका लागि लाग्ने लगानी र व्यवस्थापन गर्न भने केही समस्या हुने उनीहरू बताउँछन् । कुनै निकायबाट सहयोग भएमा , बजारीकरणको व्यवस्था गरिदिए आफूहरूले यसलाई आफ्नो आयआर्जनको माध्यम बनाउने उनीहरूको भनाई छ । 

परिषद्का अध्यक्ष सागर लुइँटेलले बजारीकरणका लागि काठमाडौँको गलैँचा निर्यात गर्ने संस्थासँग कुराकानी भएको र उसले खरिद गर्ने समेत भनेको बताउनुभएको छ । तालिमपछि व्यवसायीक रूपमै उत्पादन गर्नका लागि सहभागीहरूको समूह बनाएर काम गर्ने कुरामा छलफल भएको उहाँले बताउनुभयो । लगानीका लागि पालिका वडा तथा सरोकारवाला अन्य सङ्घसंस्थासँग सहयोग माग्ने उहाँको भनाई छ ।

अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई संरक्षण संवर्द्धन गर्दै उनीहरूलाई समाजमा पुनर्स्थापना गर्न र आर्थिक उपार्जनको काममा पनि अपाङ्गता भएकाहरू सरिक हुन सकुन् भन्ने उद्देश्यले गलैँचा बुन्ने तालिम सञ्चालन गर्दै आएको सामाजिक विकास कार्यालयका प्रमुख  कृष्ण प्रसाद पौडेलले बताउनुभयो । 

सामाजिक विकास कार्यालयको सीबीआर कार्यक्रम मार्फत यस तालिमको लागि चार लाख रुपैयाँ बजेट बिनियोजन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button