तपाईँ सुन्दै हुनुहुन्छः

उद्धारमा नेपाली सेना

काठमाडौँ।  नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास नगरपालिका–५ मा पहिरोले घर पुरेपछि उद्धारमा नेपाली सेनाको फौज खटाइएको छ । सोही नगरपालिका–४ स्थित त्रिशूलामा स्थानीयको घर भासिएपछि त्यहाँ पनि सेनाको टोली उद्धारका लागि फौज पुगेको जनाइएको छ ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु माध्यमिक विद्यालय डुबानमा पर्दा पाँच जना फसेको खबर प्राप्त हुनासाथ सेनाको फौज उद्धारमा खटाइएको नेपाली सेनाले जनाएको छ । ललितपुर उपमहानगरपालिका–२ स्थित नख्खु इलाका डुबान परेकाले उद्धारका लागि फौज खटाइएको छ । 

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको लेप्रेसी अस्पतालमा पहिरो जाँदा तीन जना पुरिएकाले उद्धारका लागि अहिले नेपाली सेनाको फौज जुटेको जनाइएको छ । त्यसैगरी काठमाडौँको त्रिपुरेश्वर, थापाथली क्षेत्रमा डुबान परेकाले त्यहाँ पनि उद्धारका लागि सेना खटाइएको छ । पाँचथरको फिदिम नगरपालिका–४  घर पुरिएपछि नेपाली सेना उद्धारमा जुटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button