तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा श्रीमान् श्रीमतीको मृत्यु

सिन्धुपाल्चोक । पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु भएको छ । 

लगातारको अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा न-३ का ७२ वर्षीय काजीबहादुर लामा र उहाँको ७०  वर्षीय श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो ।

गएराति पहिरोले घर पुरिँदा लामा दम्पतीको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । लिसंखुपाखर वडा न ३ का पूर्व वडा अध्यक्षसमेत रहेका लामाको घर पहिरोमा परेको थाह पाएपछि स्थानीयहरूले राति नै उद्धारका लागि खटेका थिए । उद्धार गर्दागर्दै पनि लामा दम्पतीलाई बचाउन नसकेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो ।

यस्तै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका लार्चास्थित बेलिबृज बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भोटेकोसी गाउँपालिका वडा न ३ र ४ जोड्ने बेलीब्रिज बगाएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो ।

अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे तातोपानी खण्डमा पर्ने यो बेलीबृज बगाएपछि नेपाल चीनबीचको तातोपानी नाकासँग सडक सञ्जाल टुटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button