तपाईँ सुन्दै हुनुहुन्छः

विपद् जोखिम न्यूनीकरण गर्न समयमै सही सूचना दिने व्यवस्था मिलाउन मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ ।

मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी)को बैठकमा मन्त्री शर्माले सबैलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले आफ्ना सबै संरचनाहरू तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।

‘आपतकालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ’– उहाँले भन्नुभयो– ‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’

विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयं सञ्चारसम्बद्ध निकाय तथा संस्थाहरूले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरीकाले सोच्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले हरेक निकायले आपतकालीन उद्धार समूहहरू बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूलाई संभावित जोखिम स्थलहरूको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

नेपाल विपद्का हिसाबले विश्वमै जोखिमयुक्त मुलुक भएकाले एउटा विपदबाट बच्ने तयारी गरिरहँदा अर्को विपद आउनसक्ने भएकाले दीर्घकालीन रुपमा नै विपद्बाट बच्नका लागि सञ्चार व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । उहाँले यस्तो अवस्थामा आम सञ्चारका माध्यमको सबैभन्दा प्रभावकारी भूमिका हुने र त्यसमा पनि अझ जस्तो विपद्को बेलामा पनि सुन्न सकिने रेडियोहरूले क्षणक्षणमा सही सूचना दिनुपर्ने बताउनुभयो ।

सङ्कटको बेलामा सरकार, समुदाय, गैर सरकारी र निजी क्षेत्रको बीचमा कुनै भिन्नता नहुने स्पष्ट गर्दै सबै एकीकृत रुपमा आधारित तथा सही सूचनाका आधारमा अघि बढ्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

बैठकमा दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलका प्रमुख तथा प्रतिनिधिहरूले बाढी पहिरोको जोखिम स्थल क्षेत्रका सेवाग्राहीलाई विपद जोखिमको सूचना दिन एसएमएस गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको थियो । त्यस्तै सरकारी स्वामित्वका सञ्चार माध्यम, अकोराब, बान लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले विपद्जन्य जोखिमबाट बच्नका लागि सचेतनाका कार्यक्रम र सूचनाहरू नियमित रुपमा प्रवाह गरिरहेको जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button