तपाईँ सुन्दै हुनुहुन्छः

संसद् भवन समयमा निर्माण गर्न सुझाव

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले सिंहदरबारभित्र बन्दै गरेको सङ्घीय संसद्को नयाँ भवन समयमा निर्माण सम्पन्न गर्न सुझाव दिनुभएको छ । 

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा उहाँहरूले नयाँ संसद् भवन समयमा सम्पन्न गर्न सहरी विकास मन्त्रालयलाई आग्रह गर्नुभएको हो । भवन निर्माणको गति सुस्त भएको टिप्पणी गर्दै उहाँहरूले द्रूत गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । समितिका सदस्य समित्रा बिसीले झन्झटिलो निर्माण प्रक्रियाका कारण संसद्को नयाँ भवन निर्माण प्रक्रियाले गति लिन नसकेको बताउनुभयो । 

अर्की सदस्य गोमादेवी तिमल्सेनाले समयमा नयाँ भवन निर्माण हुन नसक्दा भाडाको घरमा संसद् चलाउनु परेको बताउनुभयो । उहाँले बढी श्रमिक प्रयोग गरेर भए पनि समयमा काम सक्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिनुभयो । समितिकी सदस्य रुक्मिणी कोइरालाले पनि विगतमा भएका गल्ती कमजोरीलाई सच्चाएर अब जतिसक्दो छिटो नयाँ भवनको काम सक्न आग्रह गर्नुभएको छ । समितिका सदस्य गोपाल भट्टराईले नयाँ भवन निर्माणको प्रगति नभएकाले समयमा निर्माण सम्पन्न गर्ने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)का संसदीय समितिहरू, संसदीय दलका कार्यालय रहने गरी भवन निर्माण भइरहेको छ । समितिले दिएको सुझावमा सहरी विकास मन्त्रालयले जतिसक्दो छिटो निर्माण सम्पन्न गर्ने जवाफ दिएको छ । सिंहदरबारको उत्तरपूर्वी भेगमा करिब एक सय ५१ रोपनी क्षेत्रफलमा नयाँ संसद् भवन निर्माण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यहाँ सङ्घीय संसद् भवन, राष्ट्रियसभा भवन, भिभिआइपी भवन र सेन्टर लभीलगायत १२ वटा भवन हुनेछन् । बफरजोन, उत्तरतिर फराकिलो सडकसहित दायाँबायाँ रुखहरू रोपिने र भवन परिसर प्रवेश गर्न चार वटा प्रवेशद्वार हुने बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button