तपाईँ सुन्दै हुनुहुन्छः

बालबालिकाको सुरक्षाप्रति सरकार गम्भीर : मन्त्री चौधरी

जनकपुरधाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आजका बालबालिकाहरू देशका भविष्य भएकाले बालबालिकाको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मन्त्री चौधरीले राष्ट्रिय बालअधिकार परिषदद्वारा जनकपुरधाममा आयोजित बालबालिका खोजतलास सेवा (१०४) सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापनसम्बन्धी अनुशिक्षण कार्यक्रममा उहाँले कुनै पनि बालबालिका सडकमा रहन नहुने बताउनुभयो ।

मन्त्री चौधरीले बालबालिका सडकमुक्त अभियान पुरा गर्न तीनै तहका सरकारबीच अधिकतम सहमति र सहकार्य जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशमा बढी सङ्ख्यामा बालबालिका हराउने गरेको तथ्याङ्क रहेको बताउँदै मन्त्री चौधरीले मधेश प्रदेशमा छोरीलाई आत्मनिर्भर बनाउन प्रदेशका २० पालिकामा छोरी सुरक्षा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले महिला तथा बालबालिकाको क्षेत्रमा प्रदेश सरकारले तीनै तहका सरकारसँग समन्वय, सहकार्य तथा सहअस्तित्वका साथ काम गर्न चाहेको बताउनुभयो ।

युनिसेफका नेपाल प्रमुख एलीस अकुङ्गाले संघ तथा प्रदेश सरकारका प्रमुख व्यक्तिहरूको सहभागिताले बालबालिकाको क्षेत्रमा नेपालका सबै तहको सरकार गम्भीर रहेको आफूहरूले महशुस गरेको बताउनुभयो ।

भोलिसम्म चल्ने कार्यक्रममा बालबालिका खोजतलास सेवा सञ्चालन तथा बाल संरक्षण घटना व्यवस्थापनमा रहेका प्रहरी अधिकृत तथा प्रहरीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button