तपाईँ सुन्दै हुनुहुन्छः

वनको संरक्षणमा स्थानीय जुटेपछि उजाड बनेको धनुषाको चुरे क्षेत्र हराभरा बन्दै  

जनकपुरधाम । धनुषा जिल्लाको वन क्षेत्रको सुरक्षा र संरक्षणमा  सामुदायिक बनसँग मिलेर काम भएपछि जिल्लाका केही चुरिया क्षेत्र पुनः हराभरा बनेको छ । साथै खाली वन क्षेत्रमा वृक्षारोपण सहितको संरक्षणको काम गरेपछि उजाड बनेको चरे क्षेत्र सुन्दर बन्न थालेको हो ।

धनुषा डिभिजन वन कार्यालय अन्तर्गतको लालगढ सव वन डिभिजन कार्यालयले विभिन्न जातको बिरुवाहरू उत्पादन गरेर सामुदायिक वन तथा मातहतमा पर्ने पालिकाहरूलाई निःशुल्क रुपमा वितरण गरेपछि चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा वृक्षारोपणका साथै संरक्षण गरेपछि उजाड बनेको वन क्षेत्र हराभरा बनेको हो । 

सामुदायिक वनका पदाधिकारी एवं उपभोक्ताको मेहनतले उजाड बनेको वन क्षेत्र अहिले हराभरा बनेपछि जङ्गली जनवार तथा मयूर जस्ता जातको चराको वृद्धि उल्लेख्य सङ्ख्यामा भएको वन क्षेत्रको संरक्षणमा क्रियाशील रहनु भएका मोती खोला सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर विश्वकर्माले जानकारी दिनु भएको हो ।   

जिल्ला समन्वय समितिका सभापति तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालय सचिव सहितका उच्च पदाधिकारीहरूले संरक्षित वन क्षेत्रको निरीक्षण गर्ने क्रममा स्थानीयले आज भन्दा एक दशक अगाडि वन फडानी तथा मानवको बढी चलखेलका कारणले नाङ्गो बनेर उजाड बनेको वन क्षेत्र अहिले पुनः हराभरा बनेको जानकारी दिनुभयो । 

वनको खाली जग्गामा सामुदायिक वनका उपभोक्ताहरूलाई सामूहिक रुपमा जडीबुटी खेती तथा वनको उपभोग गर्न दिएपछि अहिले मोती खोला सामुदायिक वन क्षेत्रमा कुरिलो खेती हुन थालेको छ । गत वर्ष मात्र ५ हजार मूल्यको कुरिलो बिक्री गरेको जानकारी अनुगमन टोलीलाई गराइएको छ । 

लालगढ सव वन डिभिजन कार्यालय धनुषाले चालु आर्थिक वर्षमा विभिन्न जातको बिरुवाहरू उत्पादन गरेर निःशुल्क रुपमा वितरण शुरु गरेको कार्यालयका प्रमुख सहायक वन अधिकृत मदन चौधरीले जानकारी दिनु भयो । सामुदायिक वन क्षेत्रमा बिरुवा तथा जडीबुटी खेतीका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरिँदै आएको छ । 

अहिले सो सव डिभिजन वन कार्यालयको क्षेत्रमा क्षेत्रमा ७ हजार ४ सय हेक्टर वन क्षेत्र रहेका छन् । जसमा १२ वटा सामुदायिक वन क्षेत्रलाई ५ हजार ५ सय ७ हेक्टर वन क्षेत्र हस्तान्तरण गर्ने काम भएको छ । 

सामुदायिक वन क्षेत्रमा हस्तान्तरण भएपछि मासिएको क्षेत्रमा ३० प्रतिशतले वन वृद्धि भएको छ । ४० प्रतिशत क्षेत्रमा पोल साइजको साखुको रुखहरू हुर्किनुका साथै अहिले पनि ३० प्रतिशत कमजोर अवस्थामा रहेको जानकारी सव डिभिजन प्रमुख चौधरीले दिनुभयो । 

यसका साथै चुरे क्षेत्रमा निर्माण भएको पानी पोखरी यस वर्षको चर्को गर्मीका बाबजुद नसुकेपछि जङ्गली जनावर तथा पक्षीहरूलाई पानी खानका लागि ठूलो सहयोग पुगेको डिभिजन वन कार्यालय धनुषाका प्रमुख बेचन चौधरीले जानकारी दिनु भयो । 

अनुगमनको क्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले वन क्षेत्रको संरक्षणमा सामुदायिक वन समितिका पदाधिकारी एवं सदस्यहरुले गरेको कामको सराहना गर्दै वन क्षेत्रको वृद्धिले समग्र मानव जगतलाई नै फाइदा पुग्ने जानकारी दिनु भयो । वन निर्देशनालयका उपसचिव अजय कुमार मिश्रले वन क्षेत्रको संरक्षण तथा वृक्षारोपणमा सामुदायिक वन क्षेत्रको महत्वपूर्ण भूमिका भएको बताउँदै नर्सरीको नियमित गोडमेल गर्नका लागि निर्देशन दिनु भयो । 

मधेश प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव बहादुर घिमिरेले सामुदायिक वन क्षेत्रमा चरिचरण तथा मानव चलखेल बन्द भएको खण्डमा यस क्षेत्रको वन क्षेत्र मुलुककै लागि उदाहरणीय बन्ने बताउँदै मन्त्रालयले बिरुवाको संरक्षण गरेर पाँच वर्ष पुर्‍याएर संरक्षण गर्नेलाई प्रति बिरुवा १ सय नगद सहित सम्मान गर्ने बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button