तपाईँ सुन्दै हुनुहुन्छः

अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलविरुद्ध रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको बिगो दाबी गरिएको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ ।

पौडेलले सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैङ्क र संयुक्त राज्य अमेरिकास्थित बैङ्क अफ अमेरिकामा रु २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ बराबरको रकम जम्मा गरेको पाइएको छ ।

यस्तै, विभिन्न सामान आपूर्तिकर्तासँग कमिसन लिई विदेशी बैङ्कमा रकम जम्मा गरेकोसमेत आयोगको अध्ययनमा खुलेको छ । रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको रकमको कुनै पनि स्रोत नखुलेको पाइएकाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नामा समेत नगद जिन्सी, सवारी साधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरुलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

अयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button