तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य तथा पोषण सुरक्षा आयोजनाका कार्यक्रमले कृषि उत्पादन वृद्धि

जनकपुरधाम । धनुषा तथा महोत्तरीमा खाद्य तथा पोषण सुरक्षा आयोजनाका कार्यक्रमले कृषि उत्पादन वृद्धि भएको छ ।

जनकपुरधाममा आज आयोजना गरिएको कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले धनुषा तथा महोत्तरी जिल्लाको बाढी प्रभावित ४ पालिकामा सञ्चालन गरेको कार्यक्रमले ती पालिकाहरूको कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएको जनाइएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको आयोजनाले धनुषाको मसखियापट्टी मुसहरनीया तथा धनौजी गाउँपालिका एवं महोत्तरीको एकडरा बेला र पिपरा गाउँपालिकामा ६ वर्षसम्म काम गरेपछि ती पालिकाको गरिब तथा विपन्न वर्ग, महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आएको महोत्तरीको एकडरा बेला गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले जानकारी दिनुभयो ।

कृषिका मन्त्रालयको नमूना कार्यक्रमको रुपमा रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको अधिकांश कार्यक्रमहरूबाट महिला, सिमान्तकृत समुदायका साथै विपन्न गर्वका व्यक्तिहरू बढी मात्रामा लाभान्वित भएको आयोजनाको क्लष्टर इकाई जनकपुरधामका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

धनुषा तथा महोत्तरीको बाढी प्रभावित रहेका चार पालिकामा २०७५ साल कार्तिक २८ गतेदेखि २०८१ असार मसान्तसम्म आयोजनाको कार्यक्रम सञ्चालन भएको थियो ।

आयोजनाका क्लष्टर इकाई धनुषाका योजना तथा कृषि अधिकृत रितेश कुमार झाले आयोजनाको कामपछि महिलाहरूको नेतृत्व क्षमताको विकास हुनुका साथै खेतबारीमा उत्पादन भएको खाद्यान्नको महत्व बारेमा जानकारी हुनुका साथै कृषि उत्पादनको बजारीकरण भई गरिब तथा विपन्न वर्गका आर्थिक अवस्थामा सुधार आएको जानकारी दिनुभयो ।

साथै खाद्यान्न बालीको मूल बिउँ उत्पादनमा वृद्धि हुनुका साथै किसानहरूको उत्पादनलाई बजारीकरण गर्नमा आयोजनाले मद्दत गरेको छ ।

आयोजनाको समापन कार्यक्रममा आयोजनाका निर्देशक जगन्नाथ तिवारीले आयोजनाले राम्रो काम गरेको भन्नुहुँदै अगामी तीन वर्षका लागि थप भएका नयाँ पालिकाहरूमा थप जिम्मेवारीका साथ काम हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेशको कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले कृषि क्षेत्रमा नमूना आयोजनाको रुपमा रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको कामले ती पालिकाका किसानहरू निक्कै खुशी हुनु स्वागतयोग्य भएको बताउनुभयो ।

पशुपक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक डा.जागेश्वर यादवले आयोजनाले विभिन्न क्षेत्रमा काम गरेर गरिब तथा विपन्न वर्गको मन जित्न सफल हुनुले आयोजना सफल भएको बताउनुभयो ।

आयोजनाबाट धनुषाका १० हजार ६ सय ३६ घर धुरी तथा महोत्तरीमा २५ हजार ३ सय ५० घर धुरी लाभान्वित भएका छन् ।

आयोजनाले विभिन्न क्षेत्रमा ८५ प्रतिशत अनुदान सोझै किसानलाई विभिन्न सेवा तथा सुविधाहरू दिने काम गरेको थियो ।

आयोजनाको कामले असार ५ गतेसम्ममा वित्तीय प्रगति ८० प्रतिशत तथा भौतिक प्रगति ९५ प्रतिशत भएको आयोजनाका कल्ष्टर इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

आयोजनाको कूल अनुमानित लागत २८.७ मिलिएन अमेरिकी डलर रहेका थियो । यस आयोजनामा विश्व बैङ्कको आर्थिक सहयोग रहेको छ ।

अगामी तीन वर्षका लागि थप हुने पालिकाहरूमा धनुषाको जनकनन्दनी तथा वटेश्वर एवं महोत्तरीको सोनमा तथा समसी गाउँपालिका रहेको र ती पालिकामा आगामी साउन १ गतेबाट काम हुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button