तपाईँ सुन्दै हुनुहुन्छः

निगालोका सामाग्री बनाएर आत्मनिर्भर बन्दै

जुम्ला ।  जुम्ला तातोपानी गाउँपालिका वडा नं.४ का दलित युवाहरू निगालोका सामाग्री बनाएर आत्मनिर्भर हुन  थालेका छन् । सिप सिकेर वन जङ्गलमा पाइने निगालोबाट बन्ने विभिन्न सामाग्री बनाउन थालेका हुन् । विगतमा डोको मात्रै बुन्ने तातोपानी–४ का खड्क सार्कीले सिप सिकेपछि थरी थरीका सामाग्री बनाएर विक्री गरी आम्दानी गर्न तर्फ अग्रसर भएका छन् । 

पहिला डोको बाहेक अरू बनाउन आउँदैनथ्यो । उहाँले भन्नुभयो,‘निगालोका सामाग्री बनाउने तालिम लिएपछि अहिले स्याकुँ (पानी पर्दा ओढ्ने परम्परागत छाता),सुपो अन्नबाली छान्ने भाँडो,डालो,छाप्री रोटी राख्न प्रयोग हुने भाँडो लगायतका सामाग्री बनाउन सिकेका छौ । निगालोका सामाग्रीको माग बढ्दो छ । अब आवश्यकता अनुसार बनाउँछौ । सिप सिकेपछि व्यवसायी बन्ने चाहना छ । तर अर्थ अभावले रोकिनु परेको छ ।’

परम्परागत सिप आत्मनिर्भरको माध्यम बनेको छ । निगालोको सामाग्री बनाउने सिप सिकेपछि तातोपानी–४ कै पृथ्वी सार्की पनि उत्साहित छन् । काठ दाउरा बोक्ने समयमा डोको,जेठमा रोपाई गर्दा अत्यधिक माग हुने स्याकुँ,डालो छाप्री,लगायतका सामाग्री बनाउने सिप सिक्दा अब आम्दानी बढ्ने भन्दै पृथ्वीले खुसी व्यक्त गर्नुभयो । 

निगालोका सामाग्री बनाउने सिप सिके सँगै खड्क र पृथ्वी सार्की जस्तै तातोपानी–४ का १० जना युवा व्यवसायी रूपमा अघि बढ्ने सोचमा छन् । सामाजिक विकास जुम्लाको दलित समुदायको परम्परागत सिपको प्रवर्द्धन कार्यक्रम अन्तर्गत निगालोको सामाग्री बनाउने सिप सिकाइएको हो । 

तीन लाख लगानी गरेर जाजरकोटबाट प्रशिक्षक बोलाई जुम्लामा आवश्यक पर्ने सामाग्री उत्पादन गर्न आवश्यक सिप सिकाइएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बताउनुभयो । उनका अनुसार निगालोका सामाग्री बनाउने ९ दिने तालिम सोमबार समापन समेत गरिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जङ्गलमा खेर गइरहेको निगालोको सदुपयोग पनि हुने,परम्परागत कला पनि बच्ने र आम्दानी पनि हुने भएकोले यस्ता तालिमको निरन्तरता दिनु पर्ने बताउनुभयो । पुरानो हुँदै गएको निगालो खेर जाने भएकोले सिप मूलक कार्यक्रम सञ्चालन गरी युवालाई उत्पादन सँग जोड्ने र स्रोतको प्रयोग हुने गरी नीति बनाउन समेत जिसस प्रमुख आर्चायले पालिकालाई आग्रह गर्नुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले निगालोका सामाग्री निर्माणले वनजंगलमा पाइने कच्चा पदार्थ (निगालो)को सदुपयोग हुने र आयआर्जन पनि वृद्धि हुने बताउनुभयो । निगालोबाट बन्ने सामाग्रीको उत्पादन वृद्धि तथा व्यवसायीकरणका लागि पालिकाले ठोस नीति बनाएर लगानी गर्ने उल्लेख गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे,चार नम्बर वडाध्यक्ष अम्मर बहादुर रोकाया लगायतले परम्परागत सिपको संरक्षण गर्दै आयआर्जन वृद्धि हुने खालका कार्यक्रममा लगानी बढाउन जरुरी रहेकोमा जोड दिनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button