तपाईँ सुन्दै हुनुहुन्छः

देशका विभिन्न जगंलमा लागेको आगोका कारण कम्तीमा १४५ घरगोठ जलेर नष्ट, करोडौँको क्षति 

काठमाडौँ । देशका विभिन्न जगंलमा लागेको डढेलोका कारण कम्तीमा १४५ घरगोठ जलेर नष्ट भएका छन् भने करोडौँको क्षति भएको छ ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । 

ढारपाखा सामुदायिक वनमाथिको भोट्नेगारेबाट फैलिएको आगो नेपाने टोलमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो । आगलागीका कारण तीन वटा घर जलेर नष्ट भएका छन् । 

आगलागीका कारण अर्घाखाँचीमा ४३ घर गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । भूमिकास्थान नगरपालिका  वडा नम्बर  ३ र ४ धारापानीमा शनिवार भएको आगलागीमा २३ घरगोठ जलेका थिए भने आज थप २० वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन ।

उता, गुल्मीमा तीन दिनदेखि लागेको डढेलोका कारण करोडौँको क्षति भएको छ । गुल्मीमा आगलागीबाट ८६ घरगोठ जलेका छन् । शुक्रवार र शनिवार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका–१, २ र ४ तथा गुल्मी दरबार गाउँपालिकामा लागेको आगोले ४० घर र ४६ गोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् । 

आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिनुभयो । 

शनिवार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गर्दा घरगोठ जलेको हो ।  

आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । 

मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुई दिनदेखि लागेको डढेलो अझै निभेको छैन । 

यसैगरि, सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वन क्षेत्र डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वन डढेलोले सखाप पारेको हो । 

चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल पनि डढेलोले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो  । उहाँका अनुसार मेलम्चीको २६ हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको छ । 

बाँकेका विभिन्न सामुदायिक वनमा पनि डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठुलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । 

उता, म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button