तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीको छत्र कोटमा उखु महोत्सव सम्पन्न


गुल्मी । गुल्मी जिल्लाको छत्र कोटमा एक दिने उखु महोत्सव गरिएको छ । किसानको उत्पादनलाई बजारीकरण गर्ने र उखु खेतीमा कृषकलाई आकर्षण गराउने उद्देश्यले छत्रकोट गाउँपालिकाले पहिलोपटक एक दिने उखु महोत्सव गरिएको हो ।

गाउँपालिकाले गत वर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुने सुन्तला र उखु खेतीले परिचित छ। कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गरेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उनले कृषकले उत्पादनमा गुणस्तरीयता सधैँ कायम राख्न आग्रह गर्नुभयो ।
कृषकले गुणस्तरमा ख्याल गरे दिगो रुपमा सफल भइने उहाँको तर्क छ । महोत्सवमा उखुका परिकार तथा तयार पार्ने विधि प्रदर्शन गरिएको थियो


महोत्सवबाट कृषकलाई उखु खेतीमा लाग्न प्रेरित गरेर रोजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उद्देश्य गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । अहिले यहाँका कृषकले वषौेंदखि नै उखु खेती गर्दै आएकाले यस खेतीमा कृषकलाई टिकाइ राख्नको लागि गाउँपालिकाले रचनात्मक कार्यक्रम गर्दै आएको हो ।


त्यस अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले वषौेंदखि पहिचानको रुपमा रहेको यस क्षेत्रको गुड खुदोलाई गुणस्तरीयता कायम राखे बजारीकरणको समस्या नहुने बताउनुभयो । उहाँले पछिल्लो समय बसाइँसराइका कारणले कृषकहरू घट्दै गएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नगदे बालीका रुपमा परिचित उखु खेती व्यवसायी रुपमा गरे यसबाट मनग्य आम्दानी लिन सकिने बताउनुभयो । यहाँको गुड खुदो हालसम्म गुणस्तरीयता रहेकाले यसलाई टिकाई राख्न उनले आग्रह गरे । महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका बारे कृषकले नमूना रुपमा प्रदर्शन गरेका थिए ।


छत्रकोट वडा नम्बर–१ हुँगा, वडा नम्बर–३ हर्दिनेटा, वडा नम्बर–४ दिगाम, वडा नम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । पालिका भित्रका वडाहरू मध्ये वडा नम्बर–४ मा धेरै कृषकहरू उखु खेतीमा लागेका छन् । गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन हुने गरेको छ । यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् ।


यस क्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको कारोबार हुने गरेको छ । अहिले छत्र कोटको वडा नम्बर ४ मा गाउँले ग्रुपले ४ सय रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको कृषक रामकृष्ण न्यौपानेले बताउनुभयो । उहाँले छत्रकोट र रुरुका किसानको उखु पनि खरिद गर्ने गरेका छन् । सङ्कलित उखुबाट विभिन्न परिकार तयार गरेर बजारमा बिक्री गर्ने गरेको उनले बताउनुभयो ।


महोत्सव आयोजना गरेर कृषकको उत्पादनलाई सम्मान गरेको प्रति कृषकहरू उत्साहित भएका थिए ।
उखु खेती गर्ने कृषकलाई गाउँपालिका र कृषि ज्ञान केन्द्रले विभिन्न जातका बिउ सहयोग गर्ने गरेको छ । अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ । यी क्षेत्रमा किसानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । यतिबेला किसानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् ।


ग्रामीण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्दै आएको उखु खेतीलाई प्रविधिको विकाससँगै आधुनिक मेसिनको प्रयोगले खुदो र गुड बेचेर जीविकोपार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।


यी क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मी सदरमुकाम तम्घास, रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौँका सहर देखी विदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरूले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने प्रचलन पनि रहेको छ ।यहाँको गुड अर्गानीक भएकाले एकपटक प्रयोग गरेकाले पुनः खोजी खोजी खाने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button