तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको आर्थिक मामिलामा चुमान र भौतिक पूर्वाधारमा पुनः गुरुङ 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले २ जना बिना विभागीय मन्त्रीलाई जिम्मेवारी तोक्ने गरी सिफारिस गर्नु भएको छ ।

नेकपा माओवादी (केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानलाई आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पुनः भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा सिफारिस आएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताउनुभयो ।

उक्त पत्र आज (शनिबार) बिहानै आएकोले सार्वजनिक बिदा भएकाले त्यो प्रमाणित हुन केही समय लाग्नसक्ने उहाँले जनाउनु भयो । गत चैत २५ गते नयाँ सरकार गठन हुँदा मुख्यमन्त्री खगराज अधिकारीले दुवै जनालाई विना विभागीय मन्त्रीको रुपमा नियुक्त गर्नुभएको थियो । गण्डकीमा ७ वटा मन्त्रालय मध्य अब मुख्यमन्त्री कार्यालय सहित ५ वटा मन्त्रालय मुख्यमन्त्री अधिकारीले आफ्नै मातहतमा राख्नु भएको छ ।

अघिल्लो सरकारको समयमा छोटो समय भौतिक पूर्वाधार बिकास तथा यातायात मन्त्रालयको जिम्मा पाउनु भएको मन्त्री गुरुङ अघिल्लो ५ बर्षीय सरकारको समयमा ३ पटक खेलकुद मन्त्री हुनु भएको थियो । मन्त्री चुमान भने अघिल्लो ५ वर्षे सरकारको समयमा केही समय कानून तथा सञ्चार मन्त्री हुनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button