तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पीय जोखिम घटाउन सक्रिय नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा प्रवर्द्धनात्मक कार्यक्रमसँगै पूर्व तयारी र विपद प्रतिकार्यको योजना बनाएर काम गरिरहेको छ ।

विज्ञहरूले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम औँल्याइरहेका बेला लुम्बिनीसँगै कर्णाली र सुदूरपश्चिममा समेत उद्धार कार्य गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकाले तयारी थालेको छ । घना बस्ती भएको सहरी इलाका, पुराना घर, त्यसमा पनि कमजोर भौतिक संरचना भएका ठाउँहरूमा नेपालगञ्ज उपमहानगरपालिकाले विशेष ध्यान दिँदै सचेतनामूलक अभियानसँगै तत्काल उद्धारका लागि चारसय जना दक्ष स्वयंसेवक उत्पादन गरेको छ ।

पुराना संरचनालाई प्रबलीकरण गरेर भूकम्पको जोखिम टार्न सकिने ज्ञान पनि समुदायस्तरमा प्रवाह गरिएको छ । नीतिगत योजना निर्माणसँगै भवन निर्माण मापदण्डलाई पनि कडाइका साथ पालना गराइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा नेपालमै पहिलोपटक आवास बीमा कार्यक्रम लागू भएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार आवास बीमा कार्यक्रम अन्तर्गत हाललाई न्यूनतम १५ लाखसम्मको क्षतिपूर्ति गरिदिने हिसाबले कार्यविधि बनाएर लागू गरिएको छ ।

विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, विपद सम्बन्धि ऐन, राहत वितरण कार्यविधि, व्यवसाय निरन्तरता योजना लगायत नीतिगत व्यवस्था गरेर भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको नेपालगञ्ज उपमहानगरपालिका विपद शाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले बताउनुभयो ।

नेपालगञ्जले आफूलाई भूकम्पबाट जोगाउने वा उद्धार र राहत तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारी गर्नु त छँदैछ, त्यस बाहेक पश्चिम क्षेत्रमा उद्धार र राहतका लागि पनि आफूलाई तयार अवस्थामा राख्नु अर्को चुनौती छ । पश्चिम क्षेत्रको केन्द्र विन्दुको रुपमा रहेको नेपालगन्जलाई त्यस किसिमले पनि तयार गरिरहेको नगर प्रमुख प्रशान्त विष्टको भनाई छ । विपद विरुद्ध लड्न दक्ष जनशक्ति उत्पादन, आवास बीमा कार्यक्रम, प्रबलीकरण र सचेतना प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको विष्टले बताउनुभयो ।  

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन, ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरसँगको सहकार्यमा भूकम्पीय जोखिम न्यूनीकरणका कामहरू भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button