तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा क्षयरोगका बिरामी बढ्दै 

सल्यान । सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढ्दै जान थालेको पाइएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा  सङ्ख्यात्मक आधारमा घटबढ भइरहेको देखिएपनि क्षयरोगीका बिरामी बढ्दै गइरहेको जनाएको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा १ सय ७९ जना क्षयरोगीका बिरामी भेटिएकोमा ०७८/०७९ मा २ सय ६१ जना भेटिएका थिए । यस्तै ०७९/०८० मा २ सय ४६ जना बिरामी भेटिएकोमा चालु आर्थिक बर्ष २०८०/०८१ को पुस मसान्तसम्म १ सय २ जना बिरामी भेटिएको उहाँले बताउनु भयो । 

क्षयरोगकै कारण आर्थिक बर्ष २०७७/०७८  देखि आर्थिक बर्ष ०८०/०८१ सम्म २६ जना बिरामीको मृत्यु भएको भइसकेको छ  ।  २०७७/०७८ मा ५ जना, ०७८/०७९ ८ जना, ०७९/०८० मा ७ जना र ०८०/०८१ म ६ जना क्षयरोगीका बिरामीको मृत्यु भएको डिसीको भनाई छ । 

सानो उमेर समूहका बच्चा देखि ६० बर्ष माथिका व्यक्तिमा क्षयरोग देखिएको छ । महिनामा १० देखि १५ जनासम्म क्षयरोगीका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको सूचना अधिकारी डिसीले बताउनु भयो । 

क्षयरोगीका बिरामीहरूका लागि जिल्लाका ५४ वटा संस्थाहरूबाट निःशुल्क उपचार सेवा दिइरहेको कार्यालयले जनाएको छ । खानपानमा ध्यान दिए र समयमै उपचार गरेमा यसबाट बच्न सकिने स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख डा. अर्जुन बुढाले बताउनु भयो । यो रोग श्वासप्रश्वासको माध्यमबाट बढी सर्ने भएकाले सचेत हुनुपर्ने उहाँको भनाई छ । 

यो रोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन ।

क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा पनि भर पर्ने स्वास्थ्यकर्मीको भनाई छ । रोगसँग लड्ने क्षमता कम भए क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआईभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ । यसले फोक्सोमा मात्र नभई शरीरको विभिन्न अङ्गलाई असर पार्न सक्छ ।

क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिने डा. बुढाको भनाई छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अङ्गमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अङ्गमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अङ्गमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।

क्षयरोग लागेमा सबैभन्दा पहिले ज्वरो आउने, खोकी लाग्ने, खाना अरुचि हुनु, तौल घट्दै जानु तथा शरीर कमजोर बन्दै जाने गर्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button