तपाईँ सुन्दै हुनुहुन्छः

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन्।चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।

चैतमा मात्रै एक हजार आठ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका एक सय ५२ जना रहेका छन् भने आठ हजार तीन सय दुई अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताउनुभयो ।

मनास्लु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको सङ्ख्या बढी रहेको पाइएको छ । उक्त अवधिमा चार हजार आठ ५३ पुरुष, तीन हजार पाँच सय ९७ जना महिला र चार अन्य पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

“पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिज्ममा सबैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ”, उहाँले भन्नुभयो, “पर्यटकको आकर्षण हेर्दा पनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिज्ममा सम्भावनालाई झनै बलियो बनाउँदै लगिएको छ ।”

गएको दुई वर्षको अवधिमा समेत मनास्लु क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९/८० मा सात हजार सात सय पाँच विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।

“यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ”, प्रमुख शेरचनले भन्नुभयो, “अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।” मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् ।

त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन ९काल० ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिम चितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामीप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button