तपाईँ सुन्दै हुनुहुन्छः

५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो

काठमाडौँ । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।     

प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । 

“आज पनि देशभर डढेलोको अवस्था बिकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”     

उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् ।     

“८० प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, शर्माले भन्नुभयो । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उहाँले बताउनुभयो ।     

प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button