तपाईँ सुन्दै हुनुहुन्छः

सिंजामा बृहत् स्वास्थ्य शिविर: २३ सय नागरिक लाभान्वित, ६८ जनाको शल्यक्रिया

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ धितालिहीमा निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट २३ सय बढी स्थानीय लाभान्वित भएका छन् । 

गाउँपालिकाको सहजीकरण तथा ब्रिटिस गोर्खाज् नेपाल कादुरीको आयोजनामा वैशाख १५ देखि १८ गतेसम्म तीन दिन सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार ३४९ जना लाभान्वित भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो । 

उहाँका अनुसार महिला एक हजार ४४८ जना र पुरुष ९०१ जना शिविर बाट लाभान्वित भएका हुन् । शिविरमा आउनेलाई सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको लगायतका समस्याको स्वास्थ्य जाँच गरिएको थियो । 

जसमा १०१ जना महिला र ८६ जना पुरुष गरी १८७ जनाले प्रयोगशाला सेवा लिएका छन् । शिविरमा ५१३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । भने ५५ जना महिलाले भिआइए सेवा लिएको संयोजक रोकायाले जानकारी दिनुभयो ।

१६५ जना नागरिकले मुटु जाँच सेवा लिएका छन् । ७३६ जना महिला र एक हजार ३२६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार ५५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । जसमध्य २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको छ । 

त्यसैगरी ४११ जना पुरुष र ८६९ जना महिला गरी एक हजार २८० जनालाई चस्मा समेत वितरण गरिएको छ । २२८ जना पुरुष र ३८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५३४ जनाको दाँत निकालिएको छ । 

गाउँमै सबैखाले रोगको उपचार गर्ने बृहत् शिविर सञ्चालन भएपछि सिंजाका स्थानीयले राहत महशुस गरेका छन् । त्यही उपचार गर्न जुम्ला अस्पताल हुँदै सुर्खेत नेपालगन्ज काठमाडौँ जाँदा महँगो खर्च हुनबाट जोगिएको र घरआँगनमै उपचार पाएकोमा सिंजावासी उत्साहित भएका हुन् । 

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुँदैनन् । रोग पालेरै बसेका हुन्छन् । विशेषगरी पाठेघर समस्या भएका ग्रामीण भेगका महिला खुल्दैनन् । गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ । उनले भनिन्, यस्ता एकीकृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् । एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रको केन्द्र विन्दु सिंजा गाउँपालिकाको धितालिहीमा शिविर सञ्चालन गरिएको हो । यो क्षेत्रका हिमा, कनकासुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button