तपाईँ सुन्दै हुनुहुन्छः

शुक्रवारबाट नियमित चल्ने भयो अरुण नदीमा “फेरी”

भोजपुर। भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोडने अरुण नदीको सतिघाटमा सञ्चालित “फेरी” शुक्रवारबाट नियमित चल्ने भएको छ । गत चैत्र १६ गतेबाट बन्द भएको फेरी बिहीबार मर्मत गरेर परीक्षण गरिएको थियो । 

भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नम्बर छ र खाँदबारी नगरपालिका वडा नम्बर नौ सतिघाट स्थित अरुण नदीको फेरी पुन सञ्चालनमा आएको हो । यातायातका साधनहरूलाई सहजरुपमा वारी पारी गराउन चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुल्लीमा समस्या देखिएपछि २० दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा जिल्लाको उत्तरी क्षेत्रका यात्रुहरूलाई आवतजावतमा समस्या भएको थियो । 

अरुणमा सञ्चालनमा रहेको फेरी मर्मत भएपछि अव यातायातका साधन नियमितरुपमा वारपार हुने षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्कामा परेकाहरूको समस्या समाधान भएको छ, अव नियमितरुपमा अरुण नदीको फेरी सञ्चालन हुन्छ ।” काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको हो । फेरी सञ्चालनमा आएपछि उत्तरी क्षेत्रको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका स्थानीय प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । 

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको छ । फेरीले एकै पटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारीसाधन तार्ने गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button