तपाईँ सुन्दै हुनुहुन्छः

बन्द हुने अवस्थामा सिंहदरबार वैद्यखाना

छिटै सञ्चालनमा ल्याउने गरी गृहकार्य भइरहेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सिंहदरबार वैद्यखानामा पछिल्लो समय औषधी उत्पादनको अवस्था लगभग ठप्प जस्तै भएको छ ।

आयुर्वेदिक औषधीको अध्ययन अनुसन्धान र उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको मुलुककै आयुर्वेदको धरोहरका रूपमा रहेको सिंहदरबार वैद्यखानाको व्यवस्थापकीय र बजार पक्ष कमजोर हुँदा औषधी उत्पादन ठप्प जस्तै भएको हो ।

कुनै बेला देशमा उत्पादित आयुर्वेद औषधिको ८० प्रतिशत हिस्सा ओगट्ने सिंहदरबार वैद्यखानाको औषधी उत्पादनको अवस्था पछिल्लो समय बन्द जस्तै  छ ।

विगतमा एक सयभन्दा बढी आयुर्वेदिक औषधि बनाउने देशकै सबैभन्दा पुरानो सरकारी आयुर्वेद औषधि उद्योगको रूपमा रहेको वैद्यखानामा औषधी उत्पादनको अवस्था ठप्प हुँदा करोडौँ रुपियाँ खर्चिएर ल्याइएका मेसिनमा खिया लागेका छन् भने कार्यालयका कर्मचारीहरूले हाजिर गर्ने र दिन बिताउने काम मात्रै भएको छ । 

सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा.प्रदीप केसीले  कुनै पनि काम गर्नका लागि निर्णय लिन सञ्चालक समिति नभएको र कार्यालय प्रमुखलाई अधिकारविहीन बनाइएको भन्दै तीन वर्षदेखि आयुर्वेदिक औषधी उत्पादनका लागि बोलपत्र आह्वान हुन नसकेको जानकारी दिनुभयो । 

सिंहदरबार वैद्यखानामा २०७८ सालपछि जडीबुटी खरिद गर्न बोलपत्र आह्वान नै भएको छैन । जडीबुटी अभावमा औषधी उत्पादन हुन सकेको छैन ।  

कार्यकारी निर्देशक डा.केसीले जडीबुटी कारोबार गर्नेहरूले अरू निजी कारखानालाई निःसङ्कोच जडीबुटी दिने तर वैद्यखानालाई जडीबुटी दिन सङ्कोच मान्ने गरेको भन्नुहुँदै यस्तो बेथिति अन्त्य गर्न सरकारले ठुलै निर्णय लिनुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक डा.केसी भन्नुहुन्छ, सिंहदरबार वैद्यखाना विकास समितिका रूपमा सञ्चालनमा रहँदासम्म यो थप धराशायी बन्दै जान्छ, यसलाई व्यवस्थित रूपमा सञ्चालनका लागि औषधी बनाउने विज्ञ र जडीबुटी चिन्ने विज्ञका साथै कार्यालय प्रमुख र कार्यालय सञ्चालनका लागि अनिवार्य कर्मचारीको स्थायी दरबन्दी हुनुपर्ने बाँकी सबै करार र ज्यालादारीमा कर्मचारी राखेर काम गर्नुपर्ने हुन्छ ।

उहाँले सिंहदरबार वैद्यखाना राजनीतिक अखडा बनेको र औषधी उत्पादन ठप्प भएको भन्दै वैद्यखाना राज्यको प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो ।

कार्यकारी निर्देशक डा.केसीले यति दक्ष जनशक्ति भएको वैद्यखानालाई सरकारले स्थायित्व दिएर अगाडी बढाउनुपर्ने पनि  बताउनुभयो ।

सिंहदरबार वैद्यखाना विकास समिति अन्तर्गतको गठन आदेशबाट सञ्चालित उद्योग भएकाले नेपाल सरकारको दरबन्दी नहुँदा पटक पटक समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

पटक पटक वैद्यखानामा देखिएको समस्याका विषयमा अदालतमा मुद्दा पुगेपछि सर्वोच्च अदालतले नेपाल सरकारको एघारौँ तहको आयुर्वेदिक चिकित्सक पठाउने परमादेश दिएको थियो । तर दरबन्दी नभएका कारण चिकित्सक काजमा खटाउनुपर्ने अवस्था रहेकाले नियम सङ्गत नहुँदा यस्तो समस्या बारम्बार दोहोरिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताउनुभयो ।

उहाँले भन्नुभयो, सिंहदरबार वैद्यखानालाई गठन आदेश अनुसार कसरी संशोधन गरेर अगाडी बढाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय र मन्त्रीपरिषद्को बैठकमा पनि छलफल हुँदै आएको छ । यसमा देखिएका सबै समस्या छिटै समाधान गर्ने गरी काम गर्न मन्त्रालय लागिपरेको छ ।

व्यवस्थापकीय लापरबाही र राजनीतिक हस्तक्षेपका कारण सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादन बन्द हुने अवस्थामा पुगेको सरोकारवाला बताउँछन् ।

मुलुककै आयुर्वेदको धरोहरका रूपमा रहेको वैद्यखानालाई नियमित सञ्चालनमा ल्याउन सके आवश्यक आयुर्वेद औषधी छिमेकी मुलुक तथा बाहिरबाट डलर तिरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुनुका साथै आयुर्वेद क्षेत्रका विज्ञहरूलाई पनि मुलुकमै रोजगारी दिन सक्ने अवस्था हुने थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button