तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ – मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना : १७ जना घाइते 

चितवन । मुग्लिङ–नारायणगढ सडक स्थित चौध किलोमा  सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं.२९ स्थित चौध किलो भन्ने स्थानमा आज बिहान करिब पौने १० बजे मुग्लिङबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको  माइक्रो बस (म्याजिक भ्यान) विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँदा भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा परी इच्छा कामना गाउँपालिका वडा नं.३ बस्ने वर्ष २२ का अमिन सुनार (मध्यम), वर्ष ३३ की तारा गुरुङ (गम्भीर), वर्ष ३ की अंशु गुरुङ (मध्यम), वर्ष १० का विक्रम गुरुङ (मध्यम), वडा नं.२ बस्ने वर्ष १७ कि अस्मिता चेपाङ (मध्यम), वर्ष १६ का सोमबहादुर चेपाङ (सामान्य), इच्छा कामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष ४८ की माया राना (गम्भीर), वर्ष ३७ का भरत आले, वर्ष ४० की लालमाया आले, वर्ष ३८ की लीला गुरुङ (मध्यम) र वडा नं.७ बस्ने वर्ष १० की मिक्की गुरुङ (मध्यम)को चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै गरी तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३८ का शमशेरबहादुर थापा (सामान्य), उनका छोरा वर्ष ६ का संगम थापा (सामान्य), सोही वडा बस्ने वर्ष ३५ की गुनमाया आले (सामान्य), चितवन जिल्ला इच्छा कामना गाउँपालिका वडा नं.४ बस्ने वर्ष २४ का विवेक चेपाङ (सामान्य), सोही वडा बस्ने वर्ष २९ का यमबहादुर चेपाङ (सामान्य) र म्याजिक भ्यानका चालक इच्छा कामना गाउँपालिका वडा नं.२ बस्ने वर्ष ४० का कुमार गुरुङ (सामान्य)को पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो  ।

प्रहरीका अनुसार म्याजिक भ्यानको टायर पन्चर भएर ट्रकसँग ठोक्किन पुगेको हो । ट्रक चालक मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बमजन प्रहरीको नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button