तपाईँ सुन्दै हुनुहुन्छः

नियमित उडान नहुँदा कर्णाली बासीलाई सास्ती

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा कर्णालीका नागरिकले सास्ती पाएका छन् विगतकै जस्तो जहाजहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीमा हवाई उडान ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् । 

जुम्लाको जुम्ला विमानस्थल,मुगुको ताल्चा विमानस्थल,हुम्लाको सिमिकोट विमानस्थल र डोल्पाको जुफाल विमानस्थलमा करिब दुई सातादेखि उडान भएको छैन । नियमित उडान नहुँदा हुम्ला,डोल्पा मुगु र जुम्लाबाट तत्काल परीक्षा दिन जाने विद्यार्थी,उपचार गराउन जाने बिरामी सबै प्रभावित भएका छन्  

नेपालगन्जबाट दैनिक उडान भर्ने जहाजहरू केही बिग्रिएको र केही पर्यटक ओर्सान पूर्वतिर गएपछि कर्णालीमा हवाई यात्रा ठप्प हुँदा नागरिकले सास्ती पाएका छन् ।  जहाजहरू बर्सेनि यही सिजनमा प्रायः कर्णालीमा उडान ठप्प गरेर लुक्ला, पोखरा, जोमसोम लगायत पर्यटकीय स्थानमा पर्यटक बोक्न जाने गरेका छन् । 

जुम्ला सहित कर्णालीमा नियमित उडान गर्दै आएका तारा, समिट, सिता एयरले पर्यटक बोक्ने समयमा कर्णालीका जनतालाई बेवास्ता गर्दै आएका छन् । नेपाल एयरलाइन्सले जुम्लामा हप्तामा दुई उडान गरे पनि केही दिनयता बिग्रिएकोले उडान भएको छैन । त्यस्तै नियमित उडान गर्ने समिट एयरमा पनि प्राविधिक समस्या आएपछि कर्णालीमा उडान रोकिएको हो । 

हप्ताको बुधवार उडान गर्ने सिता एयर,शनिवार उडान गर्ने तारा एयर समेत नियमित उडान नगर्दा कर्णालीमा उडान नगरेको नागरिकको गुनासो छ । आइतबार र सोमबार उडान गर्ने नेपाल एयरलाइन्समा समेत खराबी आएपछि उडान भएको छैन ।  

यद्यपि तारा एयरले भने शनिवार नियमित उडान गर्दै आएको दाबी गरेको छ । गत शनिवार पनि उडान गरेको र आउने शनिवार पनि उडान गर्ने बताएको हो । भने सिता एयरको जहाज पोखरा उडान गरिरहेको र ढिलामा जेठ पहिलो हप्ताबाट मात्रै कर्णालीमा उडान गर्ने बुझिएको छ । 

उडान नहुँदा अस्पतालबाट रेफर हुने बिरामी,जटिल कामले जिल्ला बाहिर जाने कर्मचारीदेखि सर्वसाधारण अलपत्र परेका छन् । पटक पटक जुम्लामा नियमित उडान गर्नुपर्ने,नगरे उडानमै रोक लगाउने निर्णय गरे पनि बर्सेनि निजी विमानहरूले ठुलो धनराशि कमाउन कर्णालीमा उडान ठप्प गरेर पूर्वतिर जाने गर्दै आएका छन् । 

निजी विमान कम्पनीले सेवा भन्दा आफ्नो मुनाफाका लागि बढी काम गर्दा समस्या भएको जनगुनासो छ । कर्णालीमा उडान ठप्प भएको कारण भर्खर सम्पन्न जुम्ला–रारा अल्ट्रा म्याराथन सहभागी हुन नाम दर्ता गरेका १६ जना विदेशी र नेपाली खेलाडी जुम्ला आउन पाएनन् । 

कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाही भन्छन्,‘नियमित उडान नहुँदा म्याराथनमा १६ जना खेलाडी सहभागी हुन सकेनन् । जुम्ला पुगेका खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ पनि गाडीमै फर्किए । एन ए र समिट एयरलाइन्स बिग्रिनु,तारा सिता एयरले नियमित उडान नगर्नुले धेरै समस्या भयो । बिरामी जान पाएका छैनन् । हवाई उडान सहज बनाउन कसैको ध्यान छैन ।’

कर्णालीका हुम्ला मानसरोवर, डोल्पा से–फोक्सुन्डो, मुगु रारा ताल, जुम्ला सिञ्जा चन्दननाथ तातोपानी आउने पर्यटकहरू सहजै हवाई टिकट पाउन सकिरहेका छैनन् । सडक पहुँच नपुगेको हुम्ला र डोल्पामा हवाई यातायात नै एक मात्र आवतजावतको माध्यम हो । तर हवाई उडान नियमित नहुँदा डोल्पाली र हुम्ली नागरिकले सास्ती खेप्नु परेको छ । 

यो वर्ष समिट र नेपाल एयरलाइन्स विग्रिएपनि गत वर्षतिर भने कर्णालीमा उडान गर्ने सबै जहाज पर्यटक बोक्न पूर्वतिर जाने गर्थे । यस वर्ष दुई जहाज बिग्रिनु र अन्य जहाजलाई पर्यटक बोक्न भ्याई नभ्याई भएपछि कर्णालीको हवाई सेवा ठप्प भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button