तपाईँ सुन्दै हुनुहुन्छः

 बिस्केट (बिस्का) जात्रा आज रातीबाट सम्पन्न हुँदै 

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन आज भैरव र भद्रकालीको रथ तानेर विधिपूर्वक जात्रा सम्पन्न हुँदै छ । 

आज बेलुकी भैरवको रथ गःहिटीबाट तान्न सुरु गरी राती अबेर टौमढी पुर्‍याएसँगै जात्रा सम्पन्न हुन्छ ।

गत चैत २७ गते टौमढीबाट भैरव र भद्रकालीको रथ तानेरै सुरु भएको बिस्केट जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

काठै काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई सके पछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने  गर्दछन् ।

जात्राको अन्तिम दिन पनि पहिलो दिनको जस्तै गहिटीबाट रथ लाई आ–आफ्नो टोलमा तानातान गरिन्छ । 

रथमा रहेको बेताल र भैरवको मूल देवता झिकेर भैरव मन्दिरमा भित्र्याएपछि जात्रा समापन हुने प्रचलन छ ।

बिस्केट जात्राको अन्तिम दिनलाई स्थानीय भाषामा द्यः(देवता) थाँहाँ बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । 

जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढाल्ने जात्रा सम्पन्न गरिएको छ । 

तान्त्रिक विधि अनुसार पूजा अर्चना गरी उभ्याइएको लिङ्गो ढालिएको थियो । 

गःहिटीबाट तौमढीका तल र माथिका बासिन्दाले तान्ने क्रममा ढुङ्गा हानाहाना र झगडा हुन नदिन भक्तपुर नगर क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेको यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । जात्राका क्रममा हजारौँ जात्रालुहरुले होस्टे र हैँसे गर्दै डोरी तानातान गरी रथलाई आफ्नो टोलमा लैजान खोजेको दृश्य साँच्चैको मनोरम हुने गर्दछ । रथलाई तल्लो वा माथिल्लो जुन टोलमा लैजान सक्यो त्यही टोल विजयी भएको मानिन्छ ।

 विक्रम संवत् अनुसार सौर मासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत ( नागनागिन म¥यो ) भन्ने भावका आधारमा लिच्छवि कालदेखि मनाइँदै आएको भनाई छ  । 

जात्राका कारण यहाँका बासिन्दालाई भ्याई नभ्याई हुने गर्दछ । बिस्केटको भोज सकिएपछि मात्रै यहाँका बासिन्दालाई  बल्ल फुर्सद पाउने स्थानीयहरू बताउँछन् ।

हालसम्म बिस्केट जात्राप्रतिको जनउत्साह र आकर्षणमा कमी नआउनु र मौलिकता समेत विखण्डित नहुनु यो जात्राको विशेषता मान्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button