तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

बर्दिबास । सकरात्मक ऊर्जा र शीतलताको प्रतीक स्वरूप आज मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदैछ ।

परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर यस पर्वलाई मनाउने प्रचलन रहँदै आएको छ । नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल मनाउन लागिएको हो ।

यस पर्वमा जेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ । ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्बत खाने र खुवाइने परम्परा छ ।

आज बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिन्छन् । नयाँ वर्षमा जल सिञ्चित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति छ ।

गर्मी मौसमको चनाको सातु, दाल, मुँगको तरकारी, चनाको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा छ । दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउने जनविश्वास रहेको छ ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रूखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button