तपाईँ सुन्दै हुनुहुन्छः

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो

काठमाडौँ । भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले डा स्वामी केशवानन्दले लेख्नुभएको ‘संस्कार शिक्षा’ पुस्तकलाई विद्यालयले पाठ्यपुस्तकका रूपमा समावेश गर्न थालेका छन् । 

स्वामी केशवानन्दले लेख्नुभएको पुस्तक गत भदौमा सार्वजनिक भएको थियो । हालसम्म करिब ५० विद्यालयले पाठ्यक्रममै राखेर आगामी शैक्षिक सत्रदेखि ‘संस्कार शिक्षा’ को अध्यापन सुरु गरेका छन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा ‘संस्कार शिक्षा’ को पठनपाठन गर्ने भएको छ । आधारभूत तहका कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई यो पुस्तक पढाइने जनाइएको छ । 

बुटवल, नवलपुर, पोखरा र राजधानी काठमाडौँका विद्यालयले पनि ‘संस्कार शिक्षा’ को पठनपाठनमा रुचि देखाएका छन् । सनातन संस्कृति र मानवीय मूल्यको यात्राका लागि पुस्तक तयार पारिएको स्वामी केशवानन्द बताउनुहुन्छ ।  पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोड्ने गरी पुस्तक तयार पारिएको हो । जीवनयापनमा आवश्यक काम संस्कारसँग जोडिएको र त्यो अहिलेका बालबालिकामा हराउन थालेकाले पुस्तककै रूपमा प्रकाशन गरेर विद्यालयमा पठनपाठनको वातावरण बनाइएको हो । 

संस्कारहीन व्यक्ति चरित्रहीन हुने, धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि पुस्तकको आवश्यकता  रहेको स्वामी केशवानन्द बताउनुहुन्छ । यसैले विद्यालयले पनि यसको आवश्यकता महसुस गर्न थालेको उहाँको भनाइ छ ।

पुस्तकमा अक्षरारम्भदेखि नै बालबालिकालाई संस्कार सिकाउने गरी पाठ राखिएको छ । साना बालबालिकालाई पढ्नमा रुचि जगाउन ‘आफ्नो नाममा आउने अक्षरमा रङ भर’ जस्ता अभ्यास पनि राखेर पढ्न आकर्षित गरिएको छ । आधुनिक बालबालिकाले ह्रस्व, दीर्घ र प्लुत भनेको नै नबुझ्ने अवस्था आउन थालेकाले पुस्तकमा त्यससम्बन्धी पाठ समावेश गरिएको छ । 

व्यञ्जनसँग जोडिने स्वरका मात्रा, व्यञ्जनसँग संयुक्त स्वर, संयुक्त व्यञ्जन, विसर्ग, अनुस्वार, चन्द्रविन्दुजस्ता विशेष वर्णबारे पनि पुस्तकमा जानकारी गराइएको छ । पाठसँगै अभ्यास पनि समावेश गरेर बालबालिकालाई सिकाउन सजिलो बनाइएको छ । देवनागरी लिपिका बारेमा पनि पुस्तकमा प्रकाश पारिएको छ । 

गणेशवन्दना पाठमा वन्दनासहित शब्दको अर्थ एवं गणेशका विषयमा जानकारी गराइएको छ । कुन ग्रहबाट कुन बारको नाम भयो ? जस्ता पाठले बालबालिकालाई पूर्वीय संस्कृतिका विषयमा सानैदेखि जानकार बनाउन खोजिएको जनाइएको छ । बालबालिकालाई ब्रह्ममुहूर्तमा उठ्न, ईश्वरको वन्दना गर्न, सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने पाठ पुस्तकमा राखिएको छ । 

सुत्दा सिरानी कता गर्ने ? आकर्षक चित्रका माध्यमबाट १० दिशाको ज्ञान जस्ता विषयले पनि बालबालिकाको ध्यान आकर्षण गर्छ । ‘सधैँ अभिवादन गर्‍यो भने आयु बढ्छ, विद्या बढ्छ, सबैले सम्मान गर्छन्, शक्ति पनि बढ्छ’, ‘फलेका रूखहरू झुक्छन् । नझुक्ने त ठुटो हो, सुकेको रूख हो । नझुक्ने मूर्ख हो ।’ जस्ता पाठले बालबालिकालाई सानैदेखि संस्कारमा डोर्‍याउँछ । 

पुस्तकमा गणेश चतुर्थीका बारेमा जानकारीमूलक सामग्री राखिएको छ । गणेशको प्रथम पूजासँग जोडिएको कथाले बालबालिकालाई आकर्षक रूपमा संस्कारको जानकारी दिएको छ । चन्द्रमाको गतिअनुसार महिनामा हुने शुक्ल र कृष्ण पक्ष, तिथिका नाम जस्ता विषयले बालबालिकालाई वैदिक संस्कृतिको ज्ञान दिन्छ । वर्ण शिक्षा अन्तर्गत दुई वा दुईभन्दा बढी वर्ण जोडिएका विशिष्ट वर्णको जानकारी पनि पुस्तकमा समावेश गरिएको छ । 

पाठ दुईमा सरस्वती वन्दना छ । सरस्वती वन्दनाको शब्दार्थ, सरस्वतीका १२ नाम समावेश गरिएको संस्कृत श्लोक, कोठामा अक्षर दिएर सरस्वतीका १२ नाम बनाउने अभ्यास पनि दिइएको छ । यस्ता अभ्यासले बालबालिकालाई पढेका पाठ याद गर्न सहयोग गर्छ । वेदको सङ्ख्या र शाखाको नामसहितको जानकारीले बालबालिकालाई वैदिक ज्ञानप्रति आकर्षित गर्न खोजेको छ । 

‘सधैँ स्नान गर्छु’ पाठले सफाइका साथै नदी सभ्यताका बारेमा बालबालिकाको ध्यानाकर्षण गरेको छ । नेपालका प्रमुख पाँच नदी कोसी, वाग्मती, त्रिशूली, कालीगण्डकी र महाकालीबारे बालबालिकालाई सामान्य ज्ञान पनि यस पाठमा दिइएको छ । पक्ष, महिना र ऋतुको ज्ञान पनि बालबालिकाले पुस्तकबाट पाउँछन् । ‘सत्य बोल’, ‘बाटो खोज’, ‘ज्ञानका कुरा, राम्रो म’ जस्ता पाठले पनि बालबालिकालाई उत्सुकतापूर्वक यो पुस्तक पढ्न प्रेरित गर्छ । 

श्रीपञ्चमी, कालिदासको कथा, १२ राशिका नाम, शिवस्तुति, शिवका अस्त्र, वाहन एवं अन्य, जपध्यान, प्राणायाम, मेरा बाबा मेरा भगवान्, महाशिवरात्रि, पशुपति, भस्मासुरको कथा, वेदका छ अङ्ग जस्ता विषयले बालबालिकालाई सनातन संस्कृतिका बारेमा ज्ञान दिन्छ । 

गुरुवन्दना, ऋषि दत्तात्रेयले २४ गुरुबाट सिकेका ज्ञान, भगवान्को भजन, हिन्दु कालगणना सूक्ष्मतादेखि विराटसम्म, गुरु भगवान्, पञ्चामृत, गुरु पूर्णिमा, श्रीगुरुयन्त्र, गुरुभक्तिको कथा, महाभारतसम्बन्धी सामान्य जानकारी पनि पुस्तकमा दिइएको छ । यसले हाम्रो मौलिक संस्कारको जानकारी बालबालिकालाई हुन्छ । 

देवीवन्दना पाठमा देवीको एक श्लोकको स्तोत्रसहित नेपालका मुख्य १२ वटा देवी मन्दिरको जानकारी बालबालिकालाई गराइएको छ । स्वाध्याय पाठमा वैदिक दर्शनको महत्वलाई सूक्ष्म तरिकाले सहज रूपमा बुझाउन खोजिएको छ । वेद, गीता, पुराण, उपनिषद्, धर्मशास्त्र, दर्शन, इतिहास र आयुर्वेदको चक्रीय तालिका बनाएर तिमीले के के पढेका छौँ रङ भर भनी ज्ञानका यी स्रोतप्रति बालबालिकाको इच्छा जागृत गराउने खालका सामग्री पनि पुस्तकमा समावेश गरिएको छ । विभिन्न मुद्राको जानकारी पनि पुस्तकमा दिइएको छ ।

नारी सम्मानको महत्त्व, नारी वेषभूषाका पाठसँगै लक्ष्मी, सरस्वती, दुर्गा, गायत्री, भैरवी र कुमारीबारे जिज्ञासु बन्न पनि पुस्तकले प्रेरणा दिएको छ । अक्षय तृतीया, नदीको जल, व्यापारीको कथा, इनार, धारो, कुवा र पोखरीजस्ता मौलिक ज्ञान पनि पुस्तकमा दिइएको छ । 

विष्णस्तुतिसँगै शङ्खको ज्ञान, भोजन, भोजनको नियम, भोजन संस्कृति, नैवेद्य, ऋतुफल, नवग्रह, बुढानीलकण्ठ मूर्तिको सामान्य जानकारी, त्यागका मूर्ति मुद्गल ऋषिको कथा, सात प्रमुख ऋषिको जानकारी पनि पुस्तकमा दिइएको छ । 

लक्ष्मीवन्दना, शक्तिपीठ, दिनचर्या, जपमाला, कवि शिरोमणि लेखनाथ पौडेलको नैतिक दृष्टान्त कविता, अयन, लक्ष्मीपूजा, द्यौसी, भैलो, धनपति कुबेरको कथा, मूर्तिका विषयमा सामान्य जानकारी पनि ‘संस्कार शिक्षा’ले दिएको छ ।

सूर्यवन्दना, सूर्यका रङ्गहरू, सूर्य नमस्कार र सूर्योपस्थान, गायत्री मन्त्रसम्बन्धी संक्षिप्त जानकारी, दानमहिमा, चौतारो, कार्तिकदान, ३३ कोटि देवता, दधीचिको कथा, राजा जनकका पाठ दिएर बालबालिकालाई नेपाली मौलिक संस्कार हुर्कने वातावरणको निर्माण गर्न खोजिएको छ । 

कृष्णस्तुति, शालग्राम, ब्रह्मचर्य, नक्षत्रसम्बन्धी सामान्य जानकारी, विद्यार्थीको लक्षण, याज्ञवल्क्य, जन्मोत्सव कसरी मनाउने ?, अष्टचिरञ्जीवीसम्बन्धी संक्षिप्त जानकारी, मार्कण्डेयको कथा, पिपलसम्बन्धी जानकारी पनि पुस्तकमा पढ्न पाइन्छ ।

रामवन्दना, आदिमहाकाव्य रामायणका रचनाकार वाल्मीकि, पञ्चदेवपूजनको महत्त्व, धूप र धुपौरोसम्बन्धी जानकारी, नीतिपद्य, अष्टदल, रामनवमी, पञ्चेबाजा, जननी र जन्मभूमिको कथा, नेपालको झन्डासम्बन्धी छोटो जानकारी पनि ‘संस्कार शिक्षा’ मा दिइएको छ । 

हनुमद्वन्दना, अठार पुराणका नाम, पञ्चोपचारको पूजनपद्धति, कलश, नीति शिक्षा, कुश, शतबीजरोपण, ॐ कार र हनुमानको कथा पनि पुस्तकमा समावेश गरी बालबालिकालाई पढौँ पढौँ लाग्ने गरी पुस्तकको निर्माण गरिएको छ । 

बालबालिकालाई संस्कारमा फर्काउने उद्देश्यले तयार पारिएको १२० पृष्ठको पुस्तकको अन्तिममा नेपालका चारधाम वराहक्षेत्र, पशुपति क्षेत्र, मुक्ति क्षेत्र र रुरु क्षेत्रका बारेमा सामान्य परिचय उल्लेख गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं.१ स्थित ड्याफोडिल माध्यमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरी हाल ‘संस्कार शिक्षा’ अध्ययन गरी दिन बिताइरहेका उदय अर्याल बिहान उठे देखिका संस्कारका बारेमा पढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

‘संस्कार शिक्षा’ को अध्ययनले अनिवार्य नेपाली विषयको अध्ययनमा पनि सहजता आउने अनुभव आफूले गरेको बताउँछन् । पुस्तकले गीतालगायत मौलिक दर्शनको अध्ययनमा रुचि जाग्ने समेत बालबालिकाले अनुभूति पनि गरेको जनाएका छन् ।

बालबालिकालाई पढौँ पढौँ लाग्ने यो पुस्तक भाना फाउन्डेसनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रु पाँच सय ५५ तोकिएको छ । पुस्तक प्रकाशनमा अतुल्य रिसालले सहयोग गर्नुभएको छ । पुस्तक लेखनमा रोहिणीराज तिमिल्सिना र शिवराज लामिछानेले सहयोग गर्नुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button