तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो कोप्चे उत्सव सुरु

धनकुटा । नयाँ बर्ष २०८१ को अवसर पारेर धनकुटामा दोस्रो कोप्चे उत्सव सुरु भएको छ ।

सामाजिक विकासका लागि युवाहरूको प्रयास नामक संस्थाको आयोजनामा धनकुटा नगरपालिका–५ स्थित बिहीबारे हटियामा उत्सव सुरु भएको हो । शुक्रबारदेखि वैशाख २ गतेसम्म ३ दिन दोस्रो कोप्चे उत्सव सञ्चालन हुनेछ ।

नयाँ वर्ष २०८१ को अवसर पारेर यस क्षेत्रमा बसोबास गर्ने नेवारी र आठपहरिया जातिको विभिन्न मौलिक खानाका स्टल, जातीय संस्कृति झल्काउने कला संस्कृति, भेषभुषा रहनसहन, नृत्य तथा साङ्गीतिक प्रस्तुति, स्थानीय पुरातात्त्विक सामग्रीको प्रदर्शनी, धनकुटाका पुराना तस्बिर प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिनुभयो ।

उत्सवमा स्थानीय उत्पादनका ६ वटा सहित २० वटा स्टल राखिएका छन् । करिब २० हजार पर्यटकहरूले अवलोकन गर्ने र १० लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

धनकुटा नगरपालिका –५, स्थित तल्लो र माथिल्लो कोप्चे कुनै बेला पुरानो बजारका रुपामा मात्र नभई व्यापारिक केन्द्रका रुपमा चिनिने गरिन्थ्यो । पछिल्लो समय विकास बढेसँगै यस ठाउँको चहलपहल र व्यापार व्यवसाय समेत शून्य भएकाले यसलाई जागरण गराउने उद्देश्यले गत वर्षदेखि कोप्चे उत्सवसहित विभिन्न गतिविधि सुरु गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button