तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक तरकारी उत्पादनमा सफलता पाउँदै बिर्तामोड नगरपालिका

झापा । स्थानीय तहको पहिलो निर्वाचनपछि बिर्तामोड नगरपालिकाले विभिन्न क्षेत्रहरू मध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको छ ।

नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले निर्वाचनपछि जनप्रतिनिधिहरूले कृषिलाई क्षेत्रलाई प्राथमिकता दिएका कारण बिर्तामोडले कृषि क्षेत्रमा प्रगति हासिल गरिरहेको बताउनुभयो ।

नगरपालिकाले सुरुवाती चरण मै नगर क्षेत्रका कृषियोग्य जमिनमा अनिवार्य सिँचाई सुविधा पुर्‍याउने र पूर्वकै ठुलो बजार बिर्तामोडलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने लक्ष्य राखेको थियो । नगरपालिकाले किसानलाई नियमित आइपर्ने प्राविधिक समस्याहरूमा सहजीकरण गरेर किसानका स–साना समस्याहरू तत्कालै समाधान गर्ने लक्ष्य राखेको थियो । 

नगरपालिकाले बालीनालीमा रोग लाग्ने, औजारका समस्या र प्रविधिसँगै बीउका समस्याहरू भोगिरहेका किसानको समस्याहरू न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आएको कृषि अधिकृत कडरियाले बताउनुभयो । 

यो ४÷५ वर्षको दौरानमा नगर क्षेत्रभित्र सिँचाई पुर्‍याउने लक्ष्य अनुसार ८०७ वटा मोटर बोरिङको व्यवस्था गरिएका कारण २५ सय हेक्टरमा सिँचाई सुविधा पुर्‍याउन सकिएको नगरपालिकाले जनाएको छ । 

विभिन्न संघ संस्था र ज्ञान केन्द्र झापाको समेत सहयोगमा ७० प्रतिशत जमिनमा सिँचाइको सुविधा पुर्‍याइसकेको र बिर्तामोडको कृषि क्षेत्रका लागि यसलाई ठुलो उपलब्धीका रुपमा लिइएको नगरपालिकाले जनाएको छ ।

यहाँ सिँचाई सुविधाकै कारण किसानको बाली प्रक्रियामा नै ठुलो परिवर्तन आएको  छ । पहिले धान मात्र लगाउने यहाँका किसान आकासे पानीको भरमा गहुँ र मकै छर्ने गर्दथे तर  अहिले यहाँका किसानले तीन बाली लगाइरहेका छन् । 

“यहाँ धान, आलु, मसुरो, गहुँ र मकै तीन सिजनमा उत्पादन भइरहेको छ । यसले बाली पद्धतिमा वृद्धि गरेको छ । सिँचाइका कारण तोरीको उत्पादन बढेको छ । तोरीको कारण मौरी र महको पनि उत्पादन भइरहेको छ । सिँचाइको प्रभाव यहाँसम्म छ”, कृषि अधिकृत कडरियाले भन्नुभयो ।

कृषि अधिकृत कडरियाले बिर्तामोडमा मेयर विषादी मुक्त कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्नुहुँदै व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानको प्रवद्र्धन गर्ने र विषादी न्यूनीकरण गर्दै उत्पादित कृषि वस्तु उपभोक्तासम्म पुर्‍याउने रणनीति अनुसार काम भएको   बताउनुभयो 

कृषि शाखाका अनुसार बिर्तामोडमा अहिले ११७ वटा कृषि फर्म दर्ता भएका छन् । सबै फर्महरूले २–४ कट्ठादेखि ६–७ विगाहसम्म तरकारी खेती लगाइरहेका छन् । 

नगरपालिकाले व्यावसायिक रुपमा तरकारी उत्पादनमा लागेका किसानलाई आवश्यक तालिमहरू उपलब्ध गराइरहेको जनाएको छ । 

नगरपालिकाले तरकारी खेतीमा आकर्षित गर्न किसानहरूका लागि प्राविधिक तालिमदेखि किसानलाई चाहिने औजार उपकरण, मल, बीउ उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

“परिस्थिति यस्तो बन्यो कि अब नगरपालिकाले नहेरे पनि किसानहरू व्यावसायिक तरकारी खेती गर्न सक्षम बन्नुभएको छ । आम्दानी लिन बानी परिसक्नु भएकोले तरकारी उत्पादन र व्यवसाय छोड्न सक्नुहुन्न ।”, कृषि अधिकृत कडरियाले भन्नुभयो ।

अहिलेसम्मको अर्को उपलब्धी भनेको तरकारी उत्पादनको एउटा चरण पुरा भएको छ । अब, उत्पादित तरकारीको बजारीकरण गर्न लागेको छौँ । यो वर्ष, बजारीकरणको वर्ष भन्ने कार्यक्रम नै बनाएर काम गरिरहेको उहाँले बताउनुभयो ।  

“बजार प्रवद्र्धनका २० लाख बजेटको व्यवस्था गरेको छौँ । चालु आर्थिक वर्षभित्र तरकारी सङ्कलन केन्द्र र बिक्री केन्द्रका लागि काम सम्पन्न गर्न लागिपरेको कृषि शाखाले बिचौलियारहित कृषि क्षेत्रको परिकल्पना गरेको छ ।”,  उहाँले भन्नुभयो । 

सङ्कलन केन्द्र र विक्री केन्द्रको सञ्चालनसँगै किसानले उचित मूल्यमा आफ्नो उत्पादन उपभोक्तासम्म पुर्‍याउन सक्ने उहाँले बताउनुभयो । 

बिर्तामोडका किसानले उत्पादन गरेको तरकारी विषादी रहित हुने भन्नुहुँदै उहाँले नगरपालिकाले यहाँ उत्पादित कृषि उत्पादनको विषादी परीक्षण गरेर मात्रै बजारमा पठाउने गरेको पनि बताउनुभयो । 

१५ प्रतिशत विषादी मात्रा भएको तरकारी मात्रै बजारमा विक्री गर्न दिइने उल्लेख गर्नुहुँदै उहाँले  अहिले कृषि बजारमा रहेको विषादी परीक्षणमा ३५ प्रतिशतसम्मलाई उपभोगयोग्य भनिएको बताउनुभयो ।

“बिर्तामोड धानको बीउमा आत्मनिर्भर भइसकेको छ भने आलुको बीउ उत्पादनलाई प्राथमिकता दिइएको छौँ ।” उहाँले भन्नुभयो, “सहज नेपाल, बिर्तामोड नगरपालिका र किसानको समेत लगानीमा ७० टन क्षमताको कोल्ड सेन्टर निर्माण गरिएको छ । वडा नं. ७ मा निर्माण गरिएको कोल्ड सेन्टरमा विद्युत् जडानको काम बाँकी छ । केही दिन मै विद्युत् जडान गरेर कृषि उत्पादन र बिउको स्टोर गर्ने योजना रहेको छ ।”

नगरपालिकाले आपत्कालीन बाली संरक्षणमा धान र मकैको रोग निवारणमा समेत काम गरिरहेको जनाएको छ । यो वर्ष ८ हजार किसानले उक्त सेवा पाएका छन् उल्लेख गर्नुहुँदै ठुलै समस्या आएमा कृषि शाखाले किसानको बालीमै पुगेर रोग निवारण गर्ने गरेको सामान्य भएमा किसानलाई नै सहजीकरण गरिदिने गरिएको जानकारी दिनुभयो ।

किसानलाई तालिमदेखि उपकरण व्यवस्थापन र कौसी खेतीका लागि सहजीकरण गरिरहेको कृषि शाखाले किसानलाई संघ र प्रदेशका कार्यक्रमहरूमा समेत प्रतिस्पर्धा मार्फत सहयोग गरिरहेको जनाएको छ ।

पहिले सिँचाइको प्रबन्ध नहुँदा समस्या थियो, अहिले किसानको जमिन बाँझो हुने मात्रा नै घटेको छ । खाद्यान्न बाली र नगदे बालीमा किसानको आकर्षण बढिरहेको कृषि शाखाले जनाएको छ ।

बिर्तामोडले बाली संरक्षण कार्यक्रमलाई पनि प्राथमिकता दिएको जनाएको छ नगर प्रमुख पवित्रा महतारा प्रसाईँले पनि आफ्नो कार्यकालको सुरुवात मै सम्पूर्ण कृषि क्षेत्रलाई सिञ्चित गर्ने निर्णय गर्नुभएको जानकारी दिनुहुँदै उक्त निर्णय बमोजिम नै सिँचाई विस्तारको काम भइरहेको बताउनुभयो ।

“सिँचाइकै कारण तरकारी खेतीमा उल्लेख्य उपलब्धी हासिल गर्न सकिएको छ । तरकारी खेती ३÷४ वर्षको अन्तरालमा बजार खोज्ने परिस्थितिमा पुगिएको छ ।” उहाँले भन्नुभयो, “अब, केही वर्षमा बिर्तामोडका किसानले यहाँका नागरिकलाई पुग्ने गरी तरकारी उत्पादन गर्न सक्नेछन् ।”

यहाँ मुख्यतः तरकारी खेती, तोरी, आलु र बाली संरक्षणमा विशेष प्राथमिकतामा काम गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button