तपाईँ सुन्दै हुनुहुन्छः

पाँच वर्षदेखि नवीकरण नभएका इजाजत प्राप्त हतियार बुझाउन बाँके प्रशासनको अल्टिमेटम

नेपालगन्ज। जिल्ला प्रशासन कार्यालय बाँकेले पाँच वर्ष भन्दा बढी समयदेखि नवीकरण नभएका इजाजत प्राप्त हतियार बुझाउन अल्टिमेटम दिएको छ । गृह मन्त्रालयको पछिल्लो निर्देशन अनुसार बाँके प्रशासनले पाँच बर्ष भन्दा बढी समयदेखि नवीकरण हुन नसकेका इजाजत प्राप्त हतियार बुझाउन अल्टिमेटम दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै पछिल्लो समय हातहतियार इजाजत प्राप्त व्यक्तिले मात्र प्रयोग गर्नुपर्नेमा अन्य व्यक्तिले पनि प्रयोग गरेको हुन सक्ने, हतियारको दुरुपयोग भएको हुन सक्ने आशङ्का बढेकाले इजाजत प्राप्त हतियारको दुरुस्तता जाँच गर्नुपर्ने देखिएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलद्वारा जारी गरिएको सूचनामा इजाजत लिएकाहरूलाई हतियारसहित नवीकरणका लागि कार्यालयमा आउन ३५ दिनको समय दिइएको छ । बर्सेनि नियमित नवीकरण हुन नसकेका हतियारको भौतिक अस्तित्वको अध्यावधिक अवस्था र दुरुस्तताको जानकारी राख्न मात्र नभई हतियारको प्रयोगको अनुगमन र नियमन गर्न पनि कठिनाइ भएकाले सूचनामार्फत अध्यावधिक समेत हुन प्रशासनले सार्वजनिक रुपमा सूचना जारी गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button