तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम भेगमा सुगमताको आभास : सोरूकोट बाटै नागरिकता

मुगु  ।  गमगढी बाट  उत्तर-पश्चिममा पर्ने सोरूकोट र आसपासका बस्तीहरू आजकल  सडक सञ्जालमा जोडिए पछि निकै चहल पहल बढेको पाइन्छ ।  सडक सञ्जालको पहुँचले  स्थानीय स्तरमै व्यापार व्यवसाय फस्टाउनुको साथै , ईलाका प्रशासन ,  प्रहरी चौकी, राष्ट्रिय वाणिज्य बैङ्कको शाखा, लगायत विभिन्न वित्तीय संस्था र अन्य सामुदायिक संघ संस्थाहरूले समेत सेवा बिस्तार सोरूमा  भएपछि  सोरू भेगका स्थानीय बासीहरू लाई सुगमताको आभास भएको हो   ।

सदरमुकाम केन्द्रित  केही नेपाली नागरिकता विभिन्न खाले सिफारिस , नाबालक परिचयपत्र लगायत अन्य  सेवा हरू गाउँ बाटै हुन थालेपछि जनताहरूलाई धेरै सहज भएको  इलाका प्रशासन कार्यालय सोरूकोटका प्रमुख भिम सेजुवालले बताउनु भयो ।   सङ्घीयताको मुल मर्म भनेकै  भौगोलिक सुगमता र प्रशासनिक  सहजता भएकाले  सोही मर्म अनुरूप  काम अघि बढेको प्रमुख  सेजुवालले बताउनु भयो ।  

पहिले गमगढी बजार  पुग्न सोरू बाट २ लिन पैदल हिँडेर  मुस्किलले पुगिन्थ्यो । गमगढी बाट सोरू जाँदा उतिकै समय लाग्थ्यो ।तर आज भोली २  घण्टामै गमगढी  पुग्न सकिन्छ सोरू गाउँ नचरा निवासी जग्गबहादुर शाहीले बताउनु भयो । विगतका कहानी लाग्दा दिन सम्झँदै  शाही भन्नू हुन्छ “घर बाट सामल बोकेर सदरमुकाम गमगढी जाँदा   जहाँ साँझ  पर्दछ उतै बास बस्नु  पर्दथ्यो” कहिले घर त कहिले ओडारमा । तर अहिले  अलि गाडी भाडा केही  महँगो भए पनि सहज  भएको छ । 

गमगढी जाँदा एकै दिन काम गरेर बेलुका घर पुगिहाल्छौ , समयको पनि बचत भएको छ , शाही सुनाउनु हुन्छ ।  दिनभर  बाटो हिँड्दा थकाई लाग्ने र गमगढी पुगे होटेल  बास बस्नु पर्दा  खर्च समेत बढ्ने गरेको शाही  बिगत सम्झनु  हुन्छ  । सोरूकोट केही बर्ष अघि सडक सञ्जालमा जोडिए पछि सोरू कोटमा हाल बजार बिस्तार भएको छ । दैनिक गमगढी बाट साना गाडीहरू सोरूकोटको लागि छुट्ने गर्दछन् ।   सोरूकोटमा  व्यापार व्यवसाय मौलाएको छ । 

सानातिना होटेल हरू पनि सञ्चालनमा आएका छन् । विभिन्न सरकारी तथा गैर सरकारी कर्मचारी हरूको पनि  सोरूकोटमा बाक्लो उपस्थिति हुने  गरेको पाइन्छ ।  सोरूकोट बाट  मोतीझैँ टल्किने  सैपाल हिमालको नजिकै बाट दृश्यावलोकन  समेत गर्न सकिने हुनाले  आन्तरिक  पर्यटकको समेत चहल पहल बढेको पाइन्छ । सोरू गाउँपालिकाको  सबै प्रशासनिक कामहरू यही सोरू कोट बाट नै सम्पादन हुने  हुँदा  सोरू भेगका दूर दराजका गाउँ ठाउँका जनता हरूलाई बिगत भन्दा निकै सहज भएको छ। अभावै अभावले विभिन्न समस्या झेल्दै आएका सोराल हरू  हाल समृद्धिको बाटो तिर अघि बढेको सजिलै नियाल्न सकिन्छ। बिद्धुतको राष्ट्रिय  प्रसारण लायन  नपुगेको भए पनि सोलार, पेल्ट्रिक सेट ले गाउँ बस्तीहरू झिलिमिली भएका छन् । 

मुगु कर्णाली नदीको छेवैमा रहेको  तारापानी हुँदै  सोरू कोट पुग्न  सकिन्छ । दाल खाने अत्यन्तै स्वादिलो हिमाली कालो मास उत्पादन हुने जिल्लाकै मुख्य ठाउँ सोरू नै भएकाले  मास, सिमी  बेचेर सोरालहरू राम्रो आम्दानी गर्दै आएका छन् ।  कलकल बग्ने  कर्णाली नदी । माथिपट्टि अग्ला भिर पहरा का  बावजुत   हुम्ला जोडिएको कर्णाली करिडोर  केही माथि  आडमै सोरूकोट बजार रहेको छ  बजारमा बिस्तारै आधुनिक भवनहरू बनेका छन्  स-साना ढुङ्गा माटोले बनेका कलात्मक घर , बाक्लो  ठकुरी र क्षेत्री बस्तीको  सत्कार र बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ । अझ यहाँको भाषा, कला र  परम्परागत संस्कृतिले सोरू भेग जाने जो कोही  पनि मोहित हुने गर्दछन् ।

हिमाली जिल्ला भएर पनि मध्य पहाड जस्तो हावा पानी भएको सोरूकाकोट को बेसी तिर केरा फल्ने गर्दछ । केरा बेचेर  केही स्थानीयले मनग्य आम्दानी गर्ने गर्दछन् । सोरू गाउँपालिका पुरु मुरूका बासिन्दा   सेर बहादुर मल्लले  केरा बेचेर  राम्रो आम्दानी गरेको बताउनु भयो । गाडी पुगे सँगै गुच्चि च्याउ र अन्य जडीबुटी बाट पनि सोरूका स्थानीयहरूले  लाखौँ  आम्दानी गर्दै आएका छन् । ढुवानीमा सहजता सँगै सोरू भेगको रूप रङ्ग नै बदलिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button