तपाईँ सुन्दै हुनुहुन्छः

गर्मी बढेसँगै  सुक्न थाले खानेपानीका मुहान 

बाँके । केही दिन यता पश्चिम् तराईको जनजीवन खडेरी र गर्मीले निकै कष्टकर बन्दै गएको छ । अझ पानीको स्रोत सुक्दै गएपछि बाँके जिल्लामा पिउने पानीको साथै  दैनिक उपभोग्य प्रयोगको लागि पानीको हाहाकार भएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ ,नरैनापुर, डढुवा लगायतका क्षेत्रका अधिकांश घरहरूमा हाते नलबाट पानी आउन छोडेको छ ।

हरेक प्राणीहरूको जीवन पानीले धानेको हुन्छ । सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्त्वपूर्ण भूमिका खेल्छ । खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुर मात्रामा उपयोग हुन्छ । झन यो गर्मीको समयमा पानी मानव जीवन लगायत अन्य प्राणीको लागि अत्यावश्यक चिज हो। तर यो समय हरेक बर्ष पानीको अभाव बाँकेवासीले व्यहोर्नुपरेको छ।

सुख्खा हावा चले सँगै बाँकेका नागरिकले प्रयोग गर्ने हाते नल सुक्न थालेको छ । हाते नल सुक्दै गए सँगै खानेपानीको जोहो गर्न समस्या परेको छ । वर्षेनी नल्काको धारामा पानी सुक्दा यहाँका स्थानीय बासीले खानेपानीको समस्या भोग्दै आएका छन् ।

खानेपानीको पहुँच नपुगेको क्षेत्रमा हाते नलको पानी सुकेपछि यस क्षेत्रका मानिसकी दैनिकी कष्टकर बन्दै गएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ गौर गाउँमा पनि वैशाख लागे देखी नै हाते नलमा पानी सुकेको स्थानीय तारा चन्द बताउनु हुन्छ।

केही हप्तादेखि हाते नलबाट पानी आउनै छाडेपछि पिउन र कपडा सफाइ गर्न लगायत अन्य घरायसी कामको लागि निकै समस्या भएको छ । बारीमा लगाएको फलफूल र तरकारीका बोट बिरुवा सुक्न थालेका छन् ।

पानीको समस्या समाधानको लागि कसैले पनि चासो नदिएकोमा स्थानीय चिन्तित छन् । दैनिक आवश्यक पर्ने पानीको व्यवस्थापनमा स्थानीय तह र सरोकारवाला निकायले समेत ध्यान नदिँदा यहाँका बासिन्दा समस्यामा परेको बताउनु हुन्छ स्थानीय हरिमाया थापा ।

बाँके जिल्लाको सबै ठाउँमा खानेपानीको पहुँच नपुगेकोले पनि पानीको समस्या भएको स्थानीयको ठम्याई छ । भने यता आयोजनाको खानेपानी पुगेको ठाउँमा पनि पानी आउन बन्द भएको कोहलपुरकै रमेश खनालको भनाई छ। बिहान बेलुका तिरिक तिरिक आउँछ एक बाल्टी पानी भर्नै कति समय लाग्छ। यता कोहलपुर खानेपानी आयोजनाले खडेरीको कारण पानीको मुहान सुकेकोले भने जति पानी पुर्‍याउन नसकेको निश्चित समयमा मात्र पानी छोडिने भन्दै सूचना समेत प्रकाशित गरेको छ।

जथाभाबी समर सेल गाढेकै कारण हाते नल्का सुक्दै गएकोले बाँकेवासीको गुनासो छ।बर्सेनि हाते नलमा पानी सुक्दै जाने समस्या बढ्दै जाने हो भने बर्सेनि यहाँका नागरिकले ठुलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले स्थानीय सरकार र सम्बन्धित निकायले दीर्घकालीन रुपमा समस्या समाधानको पहल गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button