तपाईँ सुन्दै हुनुहुन्छः

गुड तथा खुदोको माग बढेसँगै ग्रामीण क्षेत्रका कृषकको उखु खेतीमा बढ्दो आर्कषण (भिडियो)

गुल्मी I गुल्मी जिल्ला उखु, गुण र खुदोको लागि प्रसिद्ध मानिन्छ ।

देशका ठुला शहरदेखि विदेशी बजारमा गुल्मीको गुड तथा खुदोको माग बढेसँगै ग्रामीण क्षेत्रका कृषकको उखु खेतीमा आर्कषण बढ्न थालेको छ । 

विगत केही बर्षदेखि परम्परागत शैलीमा गर्दै आएको कृषक पछिल्लो समय व्यावसायिक उखु खेतीमा लाग्न थालेका छन् । छत्रकोट गाउँपालिकाको दिगाम,हर्दिनेटा,खज्र्याङ्ग,मानकोट र रुरुक्षेत्र गाउँपालिकाको थोर्गा,थानपति लगायतका स्थानमा राम्रो उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएको गुण तथा खुदो बुटवल,काठमाडौँ हुँदै विदेशी बजारसम्म पुग्ने गर्दछ । कतिपय कृषकले गुण र खुदोबाट नै आफ्नो दैनिकी चलाइरहेका छन् । 

यस क्षेत्रका कृषकले उखु,गुण र खुदो विक्री वितरण गरेर यहाँका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । यहाँको गुड र खुदो रिडी,पाल्पा, बुटवल, पोखरा, काठमाडौँका शहर देखी विदेश सम्म प्रख्यात छ । जिल्लाको रुरुक्षेत्र र छत्रकोट गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छन् । कृषि ज्ञान केन्द्र गुल्मीले यस बर्ष धुर्कोट र इस्मा गाउँपालिकाका केही कृषकलाई परीक्षणको रुपमा उन्नत जातको उखुको बीउ वितरण गरेको छ । बीउ वितरणले केही उत्साह थपिएपनि बाँदर जङ्गली जनावरको समस्याले आफूहरूलाई आजित बनाएको कृषकको गुनासो छ । 

राम्रो उत्पादन दिने भएकाले कृषि ज्ञान केन्द्रले स्थानीय प्रजाति सँगै जीतपुर ८ नामक बीउ उखु अनुसन्धान केन्द्र जीतपुर बाराबाट लिएर कृषकलाई वितरण गरिएको हो । खुदो प्रतिलिटर १ सय ८० रुपैयाँदेखि २ सय ५० रुपैयाँ,सादा गुडको १ सय ७० र मसलावाला गुडको २ सय ५० रुपैयाँमा प्रतिकिलो बिक्री हुने गर्दछ । गुल्मीको इस्मा र धुर्कोट गाउँपालिका र यहाँका क्षेत्रमा थप उखु खेतीको विस्तार र प्रवर्द्धनका लागि कृषकलाई उन्नत जातको उखुको बीउ वितरण कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । 

१ सय ७९ हेक्टर क्षेत्रफलमा उखु खेती भइरहेको छ । जिल्लाले वार्षिक करिब २ करोडको उखु, खुदो र गुण निर्यात गरेको कार्यालयले जनाएको छ । छत्रकोट गाउँपालिकाले उखु खेती र यसको व्यावसायिक विस्तारको लागी गाउँपालिकाले उखु महोत्सवको आयोजना गर्न लागेको छ । नयाँ जातको उखुलाई कृषकले व्यवस्थित रुपमा रोपेर उत्पादनमा वृद्धि गनुपर्नेमा जनप्रतिनिधिको जोड छ । 

यहाँका कृषकले स्थानीय रातो कोशेर, उखुडी, जीतपुर २ खेती गर्दै आएका छन् । उन्नत जातको बीउले विगतदेखि रैथाने परम्परागत शैलीमा गर्दै आएको उखुको खेतीलाई व्यावसायिक बनाउने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button