तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा ४० घर र ४६ गोठ जलेर नष्ट (भिडियो रिपोर्ट)

गुल्मी । शनिवार मात्रै गुल्मीका १३ स्थानमा आगलागी भयो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार यहाँको इस्माको गाउँपालिका वडा नम्बर २ सिदुङ्खा, हाडिखोला, वडा नम्बर ४ कोटकोटरी र मुर्किना, गुल्मी दरबार गाउँपालिका वडा नम्बर ६ भलायचौर, मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर र अर्लाङ्कोट, मालिका गाउँपालिका वडा नम्बर १ म्यालचौर, मदाने गाउँपालिका १ घडेरी, छत्रकोट गाउँपालिका १ हुँगा, धुर्कोट गाउँपालिका ६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ भटकुवामा आगलागी भएको छ  ।

जङ्गलमा लागेको आगो बस्तीमा पुग्दा ४० घर, ४६ गोठ, एक ट्याक्टर, दुई कुटानी पिसानी मिल, दुई किराना पसल र एक मन्दिरमा पूर्ण रूपमा क्षति भएको छ भने ७५ पशुचौपाय मरेका छन् । आगलागीबाट दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले इस्माको सिदुङ्खा, इस्माकै कोटकोटरी र हाडीखोलामा बढी क्षति भएको बताउनुभयो । 

आगलागीले सिदुङ्खाको बस्तीमा मरेका पशुचौपायको दुर्गन्धले गाउँमा महामारी निम्तने डरमा आगलागी पीडित रहेका छन् ।आगलागीका कारण बस्तीहरूमा खानेपानीको पहुँच टुटेको छ । पानीको सहज पहुँच नहुँदा थप समस्या भइरहेको छ । 

आगलागीबाट भएको क्षतिको थप विवरण जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिले सङ्कलन गरिरहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले आगलागी घटनास्थलमा राहतको व्यवस्था सुरु गरिरहेका छन् । जङ्गलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा भएका पशुचौपायलाई बचाउन मुस्किल परिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button