तपाईँ सुन्दै हुनुहुन्छः

स्वदेशमै आत्मनिर्भर बन्दै युवा (भिडियो रिपोर्ट)

गुल्मी । पछिल्लो समय स्वदेशमा राम्रो रोजगारीको सम्भावना नदेखेर बिदेशिनेको सङ्ख्या दैनिक बढ्दो छ । तर, गुल्मीका केही युवाले परदेश तथा विभिन्न पेशाको अवकाशपछि गाउँमै फर्किएर उद्योग सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर बन्ने प्रयास गरिरहेका छन् । 

१९ वर्ष भारतीय सेनाको जागिर गरेर अवकाशपछि गुल्मीका जुद्धबहादुर बस्नेतले स्वदेश फर्किएर दुग्ध उद्योग सञ्चालन गर्नुभएको छ ।  जिल्लालाई दुग्धमा आत्मनिर्भर बनाउने लक्ष्य सहित दुग्ध डेरी सञ्चालन गर्नुभएका बस्नेतले अहिले व्यवसायलाई गुल्मी डेरी उद्योग प्रा.लिमा रूपान्तरण गरिसक्नु भएको छ । 

उहाँले पहिले दैनिक ४० लिटर दूध बेच्नु हुथ्यो तर अहिले व्यापार वृद्धि गरेर उद्योग मार्फत अहिले १२ सय लिटर दूध खपत हुँदै आएको छ । उहाँले उद्योगमा तीन जनालाई रोजगारी दिनुभएको छ । उद्योगमा २ करोड लगानी भइसकेको छ । उद्योगमा सङ्कलित दुधबाट उद्योगले दूध, दही, पनिर, कुराउनी, घिउ, आइसक्रिम र छुर्पीलगायतका दुग्ध उत्पादन हुँदै आएको छ । 

दुग्ध व्यवसायी जुद्धबहादुर बस्नेतका अनुसार उत्पादन भएको दुग्धजन्य बस्तु सिमीचौर, खर्ज्याङ, चौरासी र अर्घाखाँचीको छत्रगन्ज, दुर्गाफाँट बिक्री हुने गर्दछ । अहिले उद्योगमा घिउ मात्रै २१ क्विन्टल बिक्रीका राखिएको छ । बजारमा सस्तो र गुणस्तरीय घिउका कारण आफूलाई बजारीकरण समस्या देखिएको उहाँको गुनासो छ । हाल उद्योगमा दैनिक ५० किलो छुर्पी उत्पादन हुन्छ । छुर्पीको बजार मूल्य प्रतिकिलो ९ सय ५० मा बिक्री हुने गर्दछ । यहाँ उत्पादनका दुग्धका परिकार बुटवल,अर्घाखाँची र बागलुङ लगायत काठमाडौँ सहित स्थानीय बजारमा बिक्री हुने गरेपनि उत्पादन अनुसारको बजारीकरण नभएको उहाँको भनाई छ । 

उहाँ जस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका रबीलाल पन्थले पाँच बर्ष कोरियामा बिताउनु भयो । उहाँ स्वदेश फर्किएर गाउँमै दुग्ध डेरी सञ्चालन गरिरहनु भएको छ । कोरियामा सिकेको सीप उहाँले रिडीमा सञ्चालित आफ्नै गौरव डेरीमा प्रयोग गरिरहेको उहाँ बताउनुहुन्छ । दुग्ध व्यवसाय मार्फत स्वदेशमै आत्मनिर्भर बन्ने सपना बोक्नु भएका पन्थले डेरीमा दूध, दही, पनिर, केक, आइसक्रिम, कुल्फी, कप, घ्यू, छुर्पी उत्पादन तथा बिक्री गर्दै आउनु भएको छ । 

दुग्ध व्यवसायी पन्थका अनुसार व्यवसाय पछिल्लो समय पहिलेको तुलनामा फस्टाई छ । दूधलाई आफ्नो व्यवसायमा सङ्कलन गरेर बिक्री गर्दा वास्तविक कृषकलाई ठूलो राहत भएको छ । उहाँले डेरीमा १५ जनालाई रोजगारी दिनुभएको छ । उहाँको डेरीमा अहिले करिब एकसय जना भन्दा बढी किसानहरू जोडिएर काम गरिरहेका छन् । व्यवसायमा करिब एक करोड लगानी भएको छ । वार्षिक रुपमा करोड बढीको कारोबार हुने गरेको उहाँको भनाई छ । 

दुग्ध व्यवसाय मार्फत स्वदेशै भविष्य खोजिरहेका यी युवा त उदाहरणीय पात्र मात्रै हुन् । यी र यस्ता व्यवसायीलाई देशमै संरक्षण गर्न सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न जरुरी छ । 

भिडियो रिपोर्ट……..

प्रतिक्रिया राख्नुहोस्

Back to top button